खोटो संकलन कार्यले वन विनाश
डडेल्धुरा । लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई राक लगाउने अभियान नै थालिएको छ ।
चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन हुँदै आइरहेका डडेल्धुराका सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका छन् । ४० वर्षदेखि एउटै रुखबाट निरन्तर खोटो संकलन गर्दा डडेल्धुराका सल्लेरी वन सुक्न थालेका हुन् । सल्लेरी वन जोगाउन खोटो संकलन कार्य रोक्नु पर्ने वनकर्मीले सामुदायिक वनलाई सुझाव दिएको छ ।
डडेल्धुरामा खोटो संकलन हुने वनको क्षेत्रफल ३० हजार हेक्टर रहेको जिल्ला वन कार्यालयले जनाएको छ । हालसम्म डडेल्धुराको सल्लेरी वनमा भवानी केमिकल्स प्रालि, दिव्या रोजिन एण्ड टर्पेन्टाइन प्रालि, माउण्ट रोजिन एण्ड टर्पेन्टाइन प्रालि र हिमचुली रोजिन एण्ड हर्वल प्रालिले खोटो संकलन कार्य गर्दै आइरहेका छन् । खोटो संकलन कार्यले सल्लेरी वन विनाश हुन थालेपछि सो कार्यलाई रोक्न वन उपभोक्ता समितिलाई जिल्ला वन कार्यालयले निर्देशन दिएको छ ।
डडेल्धुरामा चारवटा खोटो संकलन कम्पनीले काम गरिरहेका भए पनि वन निर्देशिका विपरीत खोटो संकलन गर्ने कार्य भएकाले सल्लेरी वनको अवस्था नाजुक भएको वन कर्मचारीको भनाइ रहेको छ ।
खोटो संकलन कार्यविधि, २०६४ अनुसार खोटो संकलनकर्ताले मापदण्ड र सम्झौताअनुसार खोटो संकलन नगर्दा सल्लाको वन नासिने अवस्थामा पुगेको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडाशैनीले जानकारी गराए ।
डडेल्धुरामा हालसम्म ४७३ सामुदायिक वन, धार्मिक वन, तीन निजी र १६७ वटा कबुलियती वन रहेका छन् । जसमध्ये ३० हजार हेक्टर क्षेत्रमा सल्लाको वन रहेको छ ।
जथाभावी खोटो संकलन गर्दा जिल्लाका अधिकांश सल्लेरी वनका रुख सुकिसकेका छन् भने केही रुख सुक्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि निरन्तर रुपमा खोटो संकलन गर्दा सल्लाका रुखमा रिल लगाउनका लागि खाली ठाउँ नहुँदासम्म पनि खोटो संकलन कार्यलाई भने निरन्तरता दिएको पाइन्छ ।
खोटो संकलनले केही उपभोक्ताबाहेक वन उपभोक्ता समिति र अन्यलाई खासै फाइदा नहुने र वनमात्रै विनाश भइरहेको भागेश्वर गाउँपालिका रुपालका भीमबहादुर बोहराले बताए । खोटो संकलन कार्यले सल्लाको वन नासिन थालेपछि उपभोक्ता चिन्तित बनेका छन् ।
लामो समयसम्म खोटो संकलन भइरहेका रुखको अवस्था हेरेर खोटो संकलन बन्द गर्नु पर्ने भए पनि डडेल्धुरा जिल्लामा त्यसो नगरिएको पाइएको छ । अब भने वन विनाश हुनबाट रोक्नका लागि खोटो संकलन कार्यलाई बन्द गरिने र वन उपभोक्तालाई अन्य आयमूलक कार्यमा लगाइने वनकर्मीको भनाइ रहेको छ ।
लामो समयदेखि निरन्तर रुपमा खोटो संकलन हुँदा डडेल्धुराका ७५ प्रतिशत सल्लेरी वन विनाश हुने अवस्थामा पुगेको जिल्ला वन कार्यालय डडेल्धुरा जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले जानकारी गराए । लामो अवधिसम्म एउटै रुखबाट खोटो झिक्ने कार्यलाई तुरन्तै बन्द गरिने अधिकृत भण्डारीले जानकारी गराए ।
प्रतिकृया दिनुहोस