लैंगिक हिंसा र मानव बेचबिखनविरुद्धको अभियानमा ऐक्यबद्धता
चितवन । चितवनका अधिवक्ता राजकुमार श्रेष्ठले लैंगिक हिंसा र मानव बेचबिखनविरुद्ध चलाइएको अभियानमा हस्ताक्षर गरेर ऐक्यबद्धता जनाए ।
उनीसँगै रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल कर्माचार्य पनि हस्ताक्षर गर्दै थिए । ‘यो अभियानले साँच्चै नै सकारात्मक सन्देश दिन्छ, अधिवक्ता श्रेष्ठले भन्नुभयो, अझ मेला महोत्सवमा हस्ताक्षर अभियान चलाउँदा गाउँगाउँमा समेत चेतना पुग्छ ।’
चितवनको रत्ननगर महोत्सवको मूल गेटमै ‘मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्धको अभियान, हामी सदैव अग्रसर रहने प्रतिबद्धता जनाऔँ’ भनेर लेखिएको ठूलो बोर्ड छ । मानव बेचबिखन तथा हिंसाविरुद्धको अभियानमा लागेका र यस्ता प्रभावितलाई उद्धार गर्दै आएको संस्था केआई नेपालले यसरी उक्त अभियान चलाएको हो । एक हप्तादेखि यहाँ अभियान जारी छ ।
महोत्सव हेरेर फर्कन लागेका दर्शकलाई बोलाउँदै अभियानबारे जानकारी दिने र हस्ताक्षर गर्न लगाउने काममा पूर्णिमा श्रेष्ठ र जमुना न्यौपाने खटिरहेका छन् ।
सचेतनामूलक पर्चा वितरण अभियान पनि एकसाथ छ । एकै छिनमा एक हुल युवायुवती आएर हस्ताक्षर गर्न थाले । ‘यस्तो राम्रो क्याम्पियनमा हामी छुट्नु हुन्न’ एकजनाले भने । त्यसपछि सबैले हस्ताक्षर गर्न थाले ।
मुख्य गरी महोत्सवमा धेरै क्षेत्रका मान्छे आउँछन् भनेर नै हामीले चेतना फैलाउन हस्ताक्षर अभियान थालेर प्रतिबद्धता जनाउने काम गरेको केआई नेपाल चितवनका प्रमुख केमिका घिमिरेले बताए ।
संस्थाले हिंसा प्रभावित र बेचिएका चेलीको उद्धार गरेर संरक्षण गर्ने काम गर्छ भने विभिन्न ठाउँमा सचेतना अभियान समेत चलाउँछ । प्रभावित महिला, किशोरी तथा बालिकालाई संरक्षण गर्ने, सिप सिकाउने, आत्मनिर्भर गराउने र सम्भव भएसम्म परिवारमा पुनःस्थापितसमेत गराउँदै आएको छ ।
यस्ता घटना शुरुमै रोक्न चेतना अभियानअन्तर्गत हस्ताक्षर शुरु गरिएको संस्थाकी लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउँछन् ।
प्रतिकृया दिनुहोस