यात्रुसंग बढी भाडा असुल्ने चालकलाई कारबाही
काठमाडौँ । साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् ।
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको मेला लाग्ने शालीनदीमा लाखौँ भक्तजन पुग्ने गर्छन् । मेला भर्न गएका ज्येष्ठ नागरिक, अपाङ्ग र विद्यार्थीलाई यहाँ चल्ने सवारी साधनमा यात्रा गर्दा सहुलियत नदिएको तीर्थयात्री सम्झना श्रेष्ठले बताइन ।
चाबहिलदेखि शालीनदीसम्मको भाडा प्रतिव्यक्ति २७ तोकिएको छ । तर सहचालकले यात्रुबाट ३५ उठाउने गरेका छन् । शालीनदीबाट रत्नपार्कसम्मको भाडा ३५ रहेकामा ४५ भन्दा बढी लिने गरेको यात्रु रमिला कायस्थले बताइन ।
यातायात क्षेत्रको विकृतिविरुद्ध अभियानमा लागेका भक्तपुरका रामबहादुर थापा विभागले अनुगमन नगरेकै कारण सवारी साधनका सहचालकले काठमाडौँमै मनलागी भाडा असुल्ने बताउँछन् ।
“सम्बन्धित निकायले जानकारी दिने ‘होर्डिङ बोर्ड’ समेत राखेका छैनन्, यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा भएको प्रावधानअनुसार दूरी एवं आवतजावत गर्ने स्थल उल्लेख भएको टिकट दिँदैनन्, त्यसैले सहचालकले बढीभन्दा बढी भाडा असुल्ने गरेका छन्”, उनले भने ।
रत्नपार्क, चाबहिल, साँखु, सातदोबाटोमा कार्यसमितिका एक/एकजना प्रतिनिधि खटाएर बढी भाडा असुल्नेलाई कारबाही गर्दैआएको संघले जनाएको छ । संघका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ चाबहिलदेखि शालीनदीसम्मको भाडा १०० देखि १५० सम्म लिने दुईवटा सवारी साधनका चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई बुझाएको बताउँछन् ।
शालीनदीमा एक महिना मेला लाग्ने भए पनि शनिबार र सार्वजनिक बिदाका दिन बढी भीड हुने गर्छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ ।
प्रतिकृया दिनुहोस