उदयपुरमा ५ घर आगलागी हुँदा १७ लाखको क्षति
उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्र रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका ५ घरमा आगलागी हुँदा १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो ।
विकको घरबाट शुरु भएको आगो अन्य ५ घरमा पनि सल्केपछि ती घर आगालागीबाट जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
आगलागीबाट ६५ वर्षीय रण बहादुर विकको ३ लाख २० हजार बराबरको अन्न तथा लत्ताकपडा नष्ट भएको थियो भने अर्का छिमेकी ७० वर्षीय कर्णबहादुर विकको पनि ३ लाख २० हजार क्षति भएको प्रहरीले बताएको छ ।
यस्तै, स्थानीय ३५ वर्षीय मेघबहादुर विकको ३ लाख ६० हजार, अर्का स्थानीय पर्शुराम विकको ३ लाख ७० हजार र चक्रबहादुर विकको ३ लाख ७० हजार बराबरको लत्ताकपडा अन्न नगदसमेत क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
आगलागी बढ्दै जान थालेपछि ५ किलोमिटर दूरीमा रहेको प्रहरी चौकी, भुटारबाट प्रहरीको टोली पुगेर स्थानीयको समेत सहयोगमा झण्डै डेढ घण्टापछि आगलागी नियन्त्रण भएको पनि प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस