मुख्यमन्त्रीका दावेदार शंकर पोखरेल भारी मतले विजयी
दाङ । वाम गठबन्धनको तर्फबाट ५ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएका एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नं २ क को प्रदेश सभामा विजयी भएका छन् ।
पोख्रेलले आफना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेलाई झण्डै ९ हजार मतान्तरले जित निकालेका हुन् । २ क को मतगणनाको अन्तिम परिणाम अनुसार पोख्रेलले २० हजार ४ सय ९४ मत पाएका छन् भने कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरेले ११ हजार १ सय ६९ मत प्राप्त गरेका छन् ।
५१ हजार ७ सय मतदाता रहेका यस क्षेत्रमा ३५ हजार ५ सय ४२ मत खसेको थियो । दाङ २ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्न खोजेका पोख्रेल मुख्यमन्त्रीको पक्का भए पछि प्रदेशमा झरेर कृष्ण बहादुर महरालाई प्रतिनिधि सभाका लागि ठाउँ छोडिदिएका थिए । एमाले स्थायी समिति सदस्य रहेका पोख्रेल पाटीभित्र बौद्विक र तार्किक नेताको रुपमा चिनिन्छन् ।
अर्थशास्त्रबाट स्नाकोत्तर गरेका पोख्रेल यस अघि २०५१ सालमा पनि यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७० सालको संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट काग्रेसका जिल्लास्तरीय नेता बुद्धिराम भण्डारीसँग हार बेहोरेका थिए । दाङ दुई नम्वर क्षेत्रका संघ र दुई वटै प्रदेशमा गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडी छन् । जिल्लामा ३ क बाहेक अन्य सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र ३ १मा भने काग्रेस उम्मेदवार डिल्ली बहादुर चौधरीले अग्रता लिएका छन् । गठबन्धनका उम्मेदवार भन्दा अहिले सम्म आठ सय मतले चौधरी अघि देखिएका छन् ।
को हुन् पोखरेल
विक्रम सम्वत २०१९ साल फागुन १५ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलमा उदाहरणीय मानिन्छन् ।
भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा भूमिका खेलेका उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष हुन् ।
कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेल अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५र४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२/६३ को जनआन्दोलनमा काठमाडौको मोर्चावाट आन्दोलनको नेतृत्व गरेका थिए ।
माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए ।
माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव बनेका थिए । संविधानसभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनसंरचना सम्बन्धी लिखित दस्तावेज समेत प्रस्तुत गर्ने व्यक्ति हुन् ।
पहिलो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल दोस्रो संविधान सभाको निर्वाचनमा भने प्राविधिक भने संसदमा पुग्न सकेनन् । ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट ससदमा निर्वाचित भएका पोख्रेल उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमा रहेका छन् ।
प्रतिकृया दिनुहोस