धनकुटामा वहालवाला मन्त्री र ‘म्यान अफ दि इलेक्सन’को रोचक प्रतिस्प्रर्धा

Dhankuta 15

धनकुटा । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आउन करिव दुईसाता बाँकी रहँदा धनकुटामा वहालवाला मन्त्री र स्थानीय तहमा ‘म्यान अफ दि इलेक्सन’ को उपाधी पाएका उम्मेदवार बीचको चुनावी प्रतिस्प्रर्धा रोचक बन्दै गएको छ ।

वर्तमान सरकारका उद्योग मन्त्री सुनीलबहादुर थापा र स्थानीय निकायको निर्वाचनमा धनकुटाका सातै वटा तहमा विजयी हासिल गरेर ‘म्यान अफ दि इलेक्सन’ को उपाधी पाएका राजेन्द्र राई बीच एक मात्र प्रतिनिधिसभाको लागि हुने चुनावि प्रतिष्पर्धाले जिल्लामा रौनकता थपिएको छ ।

आफ्ना बाबु पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको राजनीतिक ओतबाटै राजनीतिमा प्रवेश गरेका सुनीलबहादुर थापा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन । थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री समेत हुन ।

वाम गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार बनेका राजेन्द्र राई नेकपा (एमाले)का जिल्ला अध्यक्ष हुन् । गत स्थानीय निर्वाचनमा जिल्लालाई ‘राजनीतिक क्लीन स्वीप’ गरेका कारण उनलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनकुटा आएर उनलाई ‘म्यान अफ दी इलेक्सन’ घोषणा गर्दै आफ्नै गलाको माला लगाई दिएका थिए ।

एक लाख ५ हजार १८८ मतदाता रहेको धनकुटामा एमाले र नेकपा (माोवोदी केन्द्र) सहितको बाम गठबन्धनलाई कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायतको साथ छ । त्यसैगरी नेपाली कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) सहितको लोकतान्त्रिक गठबन्धनलाई संघीय माजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल लगायतको साथ छ ।

समग्रमा हेर्दा दुईवटै प्रतिस्प्रति उत्तिकै बलियो देखिएको हँुदा अहिले नै यसै भन्न सक्ने अवस्था रहेको यहाँका नागरिक अगुवा तथा वद्धिजीविहरूको भनाइ छ । नागरिक समाज धनकुटाका संयोजक द्रोण गुरागाईले वाम गठबन्धनका उम्मेवारसँग संगठन र युवा छन यता लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग व्यक्तित्व र वयस्क रहेको हँुदा यसै भन्न नसकिने बताउँछन् ।

यी दुवै जना उम्मेदवार साविक मुगा गाविस हाल पाख्रीबास नगरपालिका निवासी हुन् । पुर्वप्रधानमन्त्री स्वर्गीय सुर्यबहादुर थापा पन्चायत कालमा प्रधानमन्त्री हुँदा राईले बहुदलीय व्यवस्थाको लागि संघर्ष गरेको इतिहास छ ।

मन्त्री सुनिलबहादुर थापाले भने आफू निस्कलंक रहेको र जिल्लाको विकासका साथै धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन लागि परेको हुँदा जनताले विश्वास गर्ने दावी गर्छन् । २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटाको क्षेत्र नं. २ मा यी दुवै उम्मेदुवारले प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचनमा थापाले राईलाई ४५६ मत अन्तरले पराजित गरेका थिए ।

स्थानीय तहको निर्वाचन २०७४ मा ७ वटा स्थानीय तहको प्रमुखका उम्मेदवारको पाएको मतको आधारलाई हेर्ने हो भने बाम गठबन्धनसंग ३९ हजार ९८६ मत छ । लोकतान्त्रिक गठबन्धनसग २२ हजार ८२ मत रहेको छ । यो मतको आधारमा बाम गठबन्धन १७ हजार ९०४ मतले अगाडी छ ।

यी विभिन्न आधारलाई हेर्दा पनि उनीहरु विच दोस्रो पटक हुन लागरेको प्रतिस्प्रर्धा अत्यन्त रोचक देखिन्छ । वाम गठबन्धनका उम्मेदवार राईले ७४ सालको स्थानीय तहको निर्वाचनको मत परिणाम र वाम गठबन्धनलाई हेर्दा आफ्नो जीत सुनिश्चित भएको दावी गर्नुहुन्छ । तर बाम र लोकतान्त्रिक गठबन्धनका दुवै उम्मेदवारलाई आफ्नै पार्टी भित्र र गठबन्धनका दलका असन्तुष्ट कार्यकर्ताबाट असहयोग हुने खतरा पनि उत्तिकै छ ।

चुनाव जितिसकेपछि राईले धनकुटालाई राजधानी बनाउने, सडक, खानेपाने र रोजगारको सिर्जनाका साथै धनकुटाको समग्र विकास कटिबद्ध हुने संकल्प गर्नुभयो । त्यसैगरी मन्त्री थापा आफूले जितेको खण्डमा धनकुटालाई राजधानी बनाउने, पाख्रीवासमा कृषि विश्वविधालय बनाउने र तमोर औधोगिक करिडोर निर्माण गर्ने संकल्प गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले दिएको जानकारी अनुसार प्रतिनिधि सभाको लागि राष्ट्रिय जनमुक्ति पार्टीका ईन्द्र रसाइली, एकिकृत राप्रपा राष्टबादीका सुभानसिं राई, नेसनल मंगोल अर्गानाईजेसनका श्याममान राई, र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रसिंह नेम्वाङले उम्मेदवारी दिएका छन्

त्यसैगरी प्रतिनिधि सभामा जस्तै दुई वटा प्रदेश सभामा पनि बाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । प्रदेशसभाको (क) निर्वाचन क्षेत्रबाट बाम गठबन्धनबाट एमालेका निरन राई र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय तह निर्वाचनमा बाम गठबन्धनमा यो क्षेत्रमा २० हजार नौ सय ६० मत पाएको छ भने लोकतान्त्रिक गठबन्धनले १२ हजार छ सय २४ मत पाएको थियो ।

जिल्लाको सातै स्थानीय तहमा एमालेले जित हासिल गरेका कारण प्रदेश सभामा वाम गठबन्धनले सहज जित पार्ने नेकपा एमालेका सचिवालय सदस्य अर्जुन राई बताउँछन् ।

समग्रमा आठ हजार तीन सय ३६ मतको अग्रता बाम गठबन्धनलाई रहेको देखिए पनि यो क्षेत्रमा उम्मेदवार बनेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मनोहर नारायण श्रेष्ठको बजार क्षेत्रमा राम्रो पकट भएको मानिन्छ । उनी पूर्व सभासद हुन् ।

धनकुटाको (ख) निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट इन्द्रमणी पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य अर्जुन थापा उम्मेदवार हुन् । थापा २०४८ र २०५६ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनिसकेका छन् । पराजुली भने पहिलो पटक उम्मेदवार बनेका हुन् ।

धनकुटाको (ख) निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा बाम गठबन्धनले १९ हजार ३६ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले नौ हजार चार सय ५८ मत पाएको थियो । यहाँनेर बाम गठबन्धन नौ हजार पाँच ७८ मतले अगाडी रहेकाले वाम गठबन्धनको जित हुने देखिन्छ ।

तर संसदीय निर्वाचनमा राप्रपाका सूर्यबहादुर थापाले २०१५ सालदेखि जित्दै आएका क्षेत्र हो भने उहाँ छोरा सुनीलबहादुर थापाले दोस्रो संविधान सभाको निर्वाचित भएकाले यो क्षेत्रमा पनि दुई उम्मेदवारबीच कडा पतिष्पर्धा हुने नेपाली कांगेस धनकुटाका सचिव विजय सन्तोषी राई बताउँछन् ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरुमा शुष्मा राई र कुशुमकुमारी श्रेष्ठ छन् । प्रदेशसभा तर्फ स्मिता निरौला, विनादेवि राई याम्फु र हिमादेवी बस्नेत छन् । समानुपातिकमा महिलालाई राखिए पनि प्रत्येक्ष उम्मेदारमा भने दुवै गठबन्धनबाट शून्य देखिन्छ ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट समानुपातिक तर्फको प्रतिनिधि सभामा कुमारबहादुर थापा, पार्वती राई, पदमबहादुर बस्नेत र इन्द्रिरा केसी छन् । प्रदेश सभातर्फ लिला सुब्बा, कमोड फागो, प्रमिला सुब्बा, रामचन्द्र लिम्बु, पवित्रा श्रेष्ठ, जुना घिमिरे लगायत छन् । धनकुटामा एक सय ५३ वटा मतदान केन्द्र छन ।

आलेख समाचार  

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...