कञ्चनपुरका मुक्त कमलरी आत्मनिर्भर हुँदै
कञ्चनपुर । स्थानीय झलारीका मुक्त कमलरीले सहकारी संस्था सञ्चालन गरेर आय आर्जनका काम गरी आत्मनिर्भर हुन थालेका छन् ।
मुक्त कमलरी बचत तथा ऋण सहकारी संस्थामा आवद्ध मुक्त कमलरीले बचत रकम संकलन गरी सोही रकमलाई ऋणका रुपमा परिचालन गरेर आजआर्जन गर्न थालेका हुन् ।
सहकारीबाट ऋणका रुपमा रकम लिएकी सरिता चौधरीले कपडा सिलाइ पसल सञ्चालन गरी दैनिक ५० सयभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
सहकारीबाट उनले १४ प्रतिशत ब्याज तिर्ने गरी ११ हजार ऋण लिएको हो । एक महिनामै सिलाइ मेसिन खरिद गर्न लिएको ऋण चुक्ता गरी मासिक रुपमा उनले १५ हजारदेखि १७ हजारसम्म कमाइ गर्दै आएको छ ।
चौधरीले भने, ‘मालिकको घरबाट मुक्त हुँदा न हातमा सीप थियो नत केही गर्नका लागि रकम नै ।’
‘दातृ संस्थाले सीप सिकायो, त्यसपछि सहकारीमा आवद्ध भँए, ऋण लिएर कार्य गर्न थालेपछि दिनप्रतिदिन आम्दानी बढन थालेको छ’ उनले भने, ‘पूरै घरखर्च सिलाइको पैसाबाट आउने आम्दानीले धान्दै आएको छु । ’
उनी जस्तै सहकारीबाट ऋण लिएर दैजीको भम्कामा खाजा पसल सञ्चालन गर्दै आएकी सीता डगौराले समेत मनग्य आम्दानी गर्दै आउएकी छन् । सो पसलबाट उनी को मासिक ३० हजार भन्दा बढी आम्दानी हुने गरेको छ ।
सहकारीमा आवद्ध ३ दर्जन बढी मुक्त कमलरीले आयआर्जनका लागि सीप सिकेर आम्दानी गर्दै आएको सहकारीका सचिव कलवती डगौराले बताए । उनको अनुसार हालसम्म सहकारीले आयआर्जनका लागि ६ लाख १७ हजार ३११ रकम परिचालन गरेको छ ।
सहकारीमा आवद्ध १ सय ५९ जनाको २ लाख ४८ हजार बढी रकम बचत भएको छ । सहकारीले बचत गर्ने कमलरीलाई ४ देखि ९ प्रतिशत प्रतिशतसम्म ब्याज उपलब्ध गराउँदै आएको छ । कृषि, व्यापार, घरायसी खर्च, घडेरी खरिद र स्वास्थ्य उपचारका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सचिव डगौराले बताए ।
‘एक घर एक सदस्य सहकारी, एक घर एक सदस्य व्यापारी, एक घर एक सदस्य रोजगारी’ को नारा लिई सहकारीलाई विश्वशनीय, पारदर्शी र इमान्दारीका साथ अगाडि बढाउँदै आएको मुक्त कमलरीका भनाइ छ ।
प्रतिकृया दिनुहोस