लागुऔषधका कैदीबन्दी बढ्दो
काठमाडौँ । नेपालमा अवैध लागुऔषध कारोबार गर्ने कैदीबन्दीको संख्या सबैभन्दा बढी रहेको छ ।
कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार नेपालका ७२ जिल्लाका ७४ कारागारमा रहेकामध्ये ३ हजार ३८० कैदीबन्दीले लागुऔषध कारोबारसम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन् ।
विभागका महानिर्देशक कृष्णप्रसाद घिमिरेले १८ हजार ३३६ कैदीबन्दीमध्ये सबैभन्दा धेरै लागुऔषध कारोबारी रहेको जानकारी दिए ।
‘पछिल्लो समय अवैधरुपमा लागुऔषध कारोबार गर्ने र कारागार जीवन बिताउने कैदीबन्दीको संख्या बढ्दो छ’– उनले भने ।
यस्तै, जबर्जस्ती करणीका ३ हजार २५५, कर्तव्य ज्यानका २ हजार २४३, ज्यान मार्ने उद्योगका ५२७, अपहरणका ४६३ र ठगी मुद्दाका ४४० जनाले कारागार जीवन बिताइरहेका छन् ।
सरकारले लागुऔषध करणी, जीउ मास्ने, कारागारबाट भाग्ने, भ्रष्टाचारी, सरकारी कागजातको कीर्ते, यौन हिंसा, संगठित अपराध, संरक्षित वन्यजन्तुलगायतका २४ थरीका मुद्दामा आरोपितले तोकिएको समयसम्म कारागार जीवन बिताउनुपर्ने र त्योभन्दाबाहेकका घटनाका मुद्दामा ६० प्रतिशतसम्म कैद मिनाह गर्न सकिने व्यवस्था गरेको छ ।
भक्तपुर, सिरहा र धनुषामा कारागार छैन । कारगार भएका जिल्लामा एक हजार १७ जना विदेशी र एक हजार २९७ महिला कैदीबन्दी रहेको विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस