आखिर कसले किन हान्यो गौचनलाई ३ गोली ?
प्रहरी भन्छ, रमेश बाहुनको हात छ
काठमाडौं । अज्ञात व्यक्तिले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरेपछि विभिन्न आशंका जन्मिएका छन् ।
अहिलेसम्म गौचनलाई कसले किन गोली हान्यो भनेर प्रहरीले पत्ता लगाउन सकेको छैन । यद्यपि प्रहरीले रमेश बाहुनको समूहले गोली प्रहार गरेको हुन सक्ने आशंका गरेको छ ।
प्रहरीले शंका गरेका रमेश बाहुन उर्फ सुजन पौडेल भने कारागारमै छन् । प्रहरीले ठेक्कापट्टामा अवैध असुली गर्दै आएको बाहुन समूहले तीनदिन अघि मात्रै गौचनमाथि हातपात गरेको दावी गरेको छ । त्यसैको आधारमा प्रहरीले गौचनको हत्यामा बाहुनको हात रहेको आशंका गरेको छ ।
महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन सक्ने बताएका छन् । उनले भने, ‘अहिले काठमाडौं उपत्यकामा नाकाबन्दी गरेर खोजतलास भइरहेको छ ।’
गौचनको टाउको, बायाँ कोख र छातीमा तीन गोली लागेको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचन चढेको गाडीमा इट्टा प्रहार गरेको र गाडीबाट झरेपछि गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वाचित भएका थिए । आफनो निवासबाट ५० मिटरको दुरीमा गौचन माथि गोली प्रहार गरिएको थियो ।
डाँफे कन्ट्रक्सनका प्रबन्ध निर्देशकसमेत रहेका गौचनलाई खरिबोट चोकमा मोटरसाइकलमा आएका दुई जनामध्ये एक जनाले पेस्तोलबाट गोली प्रहार गरेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस