पश्चिम नेपालको पर्यटकीय सम्भावना प्रचुर : रारा तालदेखि शुक्लाफाँटसम्म

A rara

काठमाण्डौं । पश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर भएर पनि विदेशी पर्यटकको चहलपहल न्यून भएको क्षेत्र हो । जैविक तथा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले यो क्षेत्र भरिपूर्ण छ ।

नेपालको सबैभन्दा ठूलो ताल रारा बाघ हेर्नका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज र एसियामै सबैभन्दा बढी संख्यामा बाह्रसिंगा एकैसाथ हेर्न सकिने स्थल शुक्लाफाट राष्टिय निकुन्ज यहाँ छन् ।

रारा तालको सौन्दर्यबाट मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा ! हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरताबाट लठ्ठिन्छन् ।

मुगु जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९९० मिटर उचाईमा रहेको छ । जंगलको बीचमा रहेको रारा हेर्न आउने आन्तरिक पर्यटकहरु पछिल्ला दिनमा बढिरहेका छन् ।

तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ । यहाँबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिने स्थानीय व्यवसायी बताउँछन् ।

यो तालमा विश्वमै अन्यत्र नपाइने सानो ट्राउट माछा पाइन्छ । तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ । ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ ।

मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको छ । रारा जानका लागि वर्षभरि नै उपयुक्त मानिन्छ । हिउँदमा यहाँ हिउँले ढाकिएको हुन्छ भने बैशाख जेठमा फूलैफूलले सजाएको हुन्छ । साउन भाद्र महिनामा भने हरियालीका कारण निकै मनमोहन देखिएको हुन्छ ।

मानसरोवर जाने पर्यटकहरुको समेत गन्तब्यस्थलमा रारालाई जोड्न सकियो भने पश्चिम नेपालकै पर्यटन क्षेत्रको कायापलट हुन सक्ने भिजिट कर्णालीका प्रबन्ध निर्देशक राजु कार्की बताउँछन् । राराको मात्र नभएर समग्र पश्चिमकै पर्यटनमा क्षेत्रमा बहार आउनेछ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
तराईको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो वर्दिया । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुन्ज बाघ हेर्नका लागी सबैभन्दा उपयुक्त स्थान मानिन्छ । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदीको वीचमा निकुञ्जका केही भागहरु पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको हो ।

निकुन्जको ७० प्रतिशत क्षेत्र साल र यसको सहायक प्रजातिका वनले ढाकिएको छ भने बाँकी ३० प्रतिशत घाँसे मैदान रहेको छ । निकुन्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चरा चुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइने गर्दछ ।

वर्दिया राष्ट्रिय निकुन्जका लागि मात्र नभएर थारु संस्कृतिका लागि निकै प्रख्यात छ । बर्दियाको डल्लामा खोलिएको होमस्टे पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आर्कषण हो । बर्दिया राष्ट्रिय निकुन्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनी धार्मिक हिसावले निकै प्रख्यात रहेको छ ।

मध्यपश्चिमकै धार्मिकस्थलमध्ये एक मानिने ठाकुरद्वारा मन्दिरमा लिच्छविकालिन मुर्तिहरु रहेका छन् । यहाँ माघे सक्रान्तिका बेला मेला लाग्ने गर्दछ ।

महेन्द्र राजमार्ग अम्बासादेखि बर्दिया राष्ट्रिय निकुन्जको गेटसम्म पुग्नका लागी १९ किलोमिटर सडक रहेको छ । यो सडक ५ किलोमिटर मात्र पिच छ । बर्षातको समयमा ओराई खोलामा बाढी आएर आवतजावत गर्न नसकिने हुन्छ । खोलामा पुल नभएर पर्यटकहरुलाई निकै सास्ती बेहोर्नु परेको पर्यापर्यटन बिकास मन्चका अध्यक्ष मोहन थारु बताउँछन् ।

शुक्लाफाँट

दिनभर चरन चरेर लस्करै आफ्नो बासस्थानतर्फ जाँदै गरेका सयौं बाह्रसिंगेहरु नजिकैबाट देख्न पाइन्छ शुक्लाफाँट निकुन्जमा । शुक्लाफाँट बन्यजन्तु आरक्ष भन्नेवित्तिकै बाह्रसिंगेको बथान हेर्न जाने स्थानका रुपमा परिचित छ ।

जंगल सफारी र अन्य जनावरको अवलोकन गर्न शुक्लाफाँटा पुग्नेहरु धेरै हुन्छन् । यदि समय र मौसमले साथ दिएमा शुक्लाफाँटमा बाह्रसिंगेका साथै अन्य जीव जनावरहरु पनि प्रशस्त देख्न पाइन्छ । साँझको समयमा शुक्लाफाँट बन्यजन्तु आरक्षमा बाघ, खरायो, हात्ति, गैडा लगायत बिभिन्न प्रजातिका चराहरुसमेत हेर्न पाइन्छ ।

शुक्लाफाँटमा साँझको समयमा मृगहरु चरन चरेर बासस्थान जानका लागि केही समय खुल्ला स्थानमा आउने भएका कारण चार बजेको समय उपयुक्त हुने उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...