‘फ्रि भिसा फ्रि टिकट’ छिट्टै कार्यान्वयनमा : मन्त्री मन्सुर
राजविराज,। श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारीमा जाने युवायुवती ठगीमा परेको भन्दै फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयनमा ल्याउने बताए ।
सप्तरीको सदरमुकाम राजविराजस्थित सुरक्षित आप्रवाशन तथा सूचना केन्द्रको मंगलबार गतिविधि तथा ठगीमा परेकासँग जानकारी लिने क्रममा उनले यस्तो बताए ।
गाउँगाउँमा वैदेशिक रोजगारीको नाममा संस्थागतरुपमा ठगी भइरहेकाले यस विषयमा आफूले साउन महिनाभित्र नयाँ कदम चाल्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।
गरिब एवं विपन्न परिवारका व्यक्तिले सुविधाका लागि सरकारले दिएको फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयन हुन्छ, उनले आश्वासन पनि दिए ।
करिब २ वर्ष अगाडि सरकारले निःशुल्क भिसा र निःशुल्क टिकटको निर्णय लिए पनि हालसम्म कार्यान्वयनमा नआउँदा ‘देशैभरिका जिल्लामा वैदेशिक रोजगारीमा जाने व्यक्ति ठगीमा पर्ने गरेको र ठग पोख्त रहेका कारण प्रमाण नछोड्दा कारबाही प्रक्रिया पनि प्रभावकारी हुन नसकेको मन्त्री मनसुरले गुनासो गरे ।
यसैबीच, सूचना केन्द्र सञ्चालन भएयता १३ हजार ८ सय २ जनाले निःशुल्क सूचना परामर्श लिएका छन् भने ठगीमा परेका १ हजार ३१ जनाले सूचना केन्द्रमा न्यायका लागि निवेदन दर्ता गराएकोमा ६ हजार ६सय ४१ जनाको मुद्दा समाधान गरी कुल दुई करोड ८९ लाख १७ हजार २ सय फिर्ता गराउन सफल भएको कार्यक्रममा सूचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मण्डलले जानकारी दिए ।
वैदेशिक रोजगारीको सिलसिलामा ८ वर्षयता १ सय २९ जनाले ज्यान गुमाएको सूचना तथा परामर्श केन्द्रका संयोजक मण्डलले बताए ।
प्रतिकृया दिनुहोस