सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

शोकमा बिहीबार सार्वजनिक विदा दिइयो

Nembang shradha arpan

काठमाडौं । ह्रृदयघातका कारण मंगलबार बिहान निधन भएका संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पर्सि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने छ । श्रद्धाञ्जली अर्पणपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने भएको छ । त्यहाँ नेम्वाङको शरीरप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार पनि दिनभर पार्टी कार्यालयमा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरूसहित ठूलो संख्यामा राजनीतिज्ञ तथा शुभचिन्तकहरूको भीड लागेको थियो ।

नेम्वाङले पार्टी, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाउँदै पुष्पगुच्छा अर्पण गरेका थिए ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कुटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरूसहित ठूलो संख्यामा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसैबीच नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।

‘नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय सुवासचन्द्र नेम्वाङले निर्वाह गर्नुभएको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै मिति २०८०।०५।२६ को नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौंमा निधन भएको हो । नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भएका थिए ।

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष रसभामुख र २०७२ सालमा सभामुख भएका थिए । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य भएका थिए ।

प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...