पहिचानवादी आन्दोलनमा घाइते भएका पदम लिम्बुको मृत्यु
धरान । पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम सुक्वाबा लिम्बु (लाजेहाङ) को मृत्यु भएको छ ।
प्रदेशसभाले प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि पुर्वका जनजातिहरु आन्दोलनमा छन् । सोही क्रममा चैत ५ गते विराटनगरमा आन्दोलन भएको थियो । सो आन्दोलनलाई रोक्न प्रहरी हवाई फायर समेत गरेको थियो भने अश्रु ग्यासुमेत प्रहार गरेको थियो ।
आन्दोलनकै क्रममा प्रहरीको कुटाईबाट घाइते भएका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारको क्रममा शुक्रबार विहान २ बजे निधन भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय उपाध्यक्ष विष्णु तुम्बाहाम्फेले जानकारी दिइन् ।
तेह्रथुम घर भई इटहरी बस्दै आएका लिम्बु उएलवि कमाण्डारको सहइन्चार्जसमेत हुन् । उनी प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने आन्दोलनमा सक्रियतापूर्वक लागेका थिए । लिम्बुको मृत्युपछि पहिचानको आन्दोलन चर्काउने जनजाति नेताहरुले बताएका छन् ।
४२ वर्षीय लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह-कमान्डर थिए । ४२ वर्षीय लाजेहाङ २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए । लाजेहाङको शव बीपी प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
प्रतिकृया दिनुहोस