११३औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै, आज सार्वजनिक विदा
काठमाडौं । आज ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यो अवसरमा आज सार्वजनिक विदा दिइएको छ ।
हरेक वर्ष ८ मार्चका दिन विश्वभरी यो दिवस मनाइन्छ। यो दिवसलाई कतिपयले अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा पनि मनाउने गरेका छन् । नेपालका विभिन्न कम्युनिष्ट घटक निकट महिला संघसंस्थाले यो दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउँछन् भने कांग्रेस निकट संघसंस्थाले अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरेको पाइन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा विश्वभर यो दिवस मनाउने प्रचलन सुरु भएको हो ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई सम्मेलनले पारित गरेपछि हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।
नेपालमा ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदैछ । संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले प्रभातफेरी, अन्तरक्रिया, गोष्ठी, सम्मान लगायतका विभिन्न कार्यक्रम गर्दैछन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रहरी हेडक्वाटरमा विषेश कार्यक्रम गर्दैछ ।
मन्त्रालयका प्रवक्ता यामलाल भुसालकाअनुसार प्रधानमन्त्री एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा बिहान ११ बजे कार्यक्रम हुँदैछ ।
नेपालको संविधान महिला मैत्रि भए पनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनमा जोड दिएका छन् । राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिएको छ । तर महिला प्रतिनिधित्वका सवालमा बाध्यकारी व्यवस्था रहेको निकायमा बाहेक बेवास्ता गर्ने गरिएको गुनासो छ । संघ र प्रदेश सरकार गठनमा पनि महिलाको सहभागिताको विषयमा आलोचना हुँदै आएको छ ।
११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउजा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सभामुख देवराज घिमिरे लगायतले शुभकामना दिँदै महिला मुक्तिका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस