महानगरपालिकाका प्रहरी नायव निरीक्षक लोकनाथ चुडालले दिए राजीनामा
काठमाडौं । पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ ।
मेयर बालेन साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो ।
नगर प्रहरी नायव निरीक्षक लोकनाथ चुडालले ‘अनावश्यक हैकम सहन नसक्ने’ भन्दै राजीनामा दिए । तल्लो दर्जाका नगर प्रहरी कर्मचारीहरुलाई निम्नस्तर व्यवहार गरेको, दुख दिएको र अपशब्द प्रयोग गरेको उनले बताएका छन् । नगर प्रहरीले विदा माग्दा नगर प्रहरी प्रमुख राजु पाण्डेले अश्लिल शब्द प्रयोग गरेर गाली गरेको चुडालले बताएका छन् ।
चुँडालले नगर प्रहरीमा ‘मोडलिङ’ बढेकोदेखि संगठनका प्हरीमाथि अत्याचार बढेकोसम्म आरोप लगाएका छन् । नगर प्रहरी प्रमुख राजु पाण्डे भने आफू आउनुअघि व्यक्तिगत लाभ लिइरहेका नगर प्रहरीहरुले विरोध गरेको आरोप लगाए । ‘पहिले नगर प्रहरीको नाममा उठाएर खाइरहेका थिए, म आएपछि उठाउन नपाएर कराएका हुन् । अरु केही होइन’ उनले भने ।
आफूले अनुशासनमा कडाइ गरेका कारण चित्त नबुझेको हुन सक्ने पाण्डे बताउँछन् । कर्मचारीलाई अनावश्यक तनाव दिएको, छुट्टी नदिएको आरोप लगत भएको पनि उनी बताउँछन् । ‘आवश्यकता अनुसार छुट्टी दिएकै छ, घाइते भएका प्रहरी, महिला प्रहरीले मागेको बेला छुट्टी नदिएको भन्ने हावा कुरा हो’ उनले भने ।
पाण्डेले राजीनामा दिएका चुडालले यस्ता विषय उठाउनै नपाउने समेत बताए । ‘उहाँ यो विषयमा बोल्ने को हो ? को पीडित हो, उसले बोलेको सुन्नुभएको छ । कहिलेकाहीँ प्रहरी भएपछि ड्युटी धेरै गर्नुपर्छ । उहाँले लगाएको आरोपहरु सबै प्रमाणहीन छन्’ उनले भने ।
प्रतिकृया दिनुहोस