संसदीय दलको नेता धमाधम चुनिँदै : ओली, नेपाल र लिङ्देन चयन
काठमाडौं । निर्वाचन सकिएपछि राजनीतिक दलहरुले धमाधम संसदीय दलको नेता चयन गर्न थालेका छन् ।
जसअन्तर्गत नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतले संसदीय दलको नेता चयन गरिसकेका छन् । नेपाली कांग्रेसको भने मंगलबार मात्रै संसदीय दलको नेता छान्न निर्वाचन हुँदैछ ।
नेकपा एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । एमालेका अध्यक्षसमेत रहेका उनलाई दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेका थिए ।
प्रज्ञा भवन कमलादीमा भएको संसदीय दलको बैठकका क्रममा उक्त प्रस्तावमा अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन गरेपछि ओली दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको पार्टीका महासचिव डा. वेदुराम भुसालले जानकारी दिए ।
संसदीय दलको नेताको प्रस्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई चयन गरेको छ । एकीकृत समाजवादीको १० जनासांसद छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस