संघीय संसदका महासचिव गौतम भन्छन्, सबै प्रश्नको जवाफ संवैधानिक इजलासमा पठाउँछु
काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सर्वोच्च प्रशासनले सोधेको प्रश्नको दिनुको कारण ७ दिनभित्र पठाउने जवाफ दिएका छन् । तर पत्रमा उनले स्पष्ट जवाफ दिएका छैनन् ।
लिखित जवाफ माग गरेको पत्र पाएपछि महासचिव गौतमले आइतबार सर्वोच्च अदालतलाई पत्र लेखी पूर्ण बैठकले मागेको प्रश्नको जवाफ पनि संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदा समावेश गर्ने बताएका हुन् ।
पूर्ण इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले उक्त जवाफसँगै प्रशासनको पत्रको जवाफ पनि दिने गौतमले बताएका छन् । 'सोही विषयमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेकाले पूर्ण इजलासको प्रश्नको रेस्पोन्स गरेको छु । यसको जवाफ कारण देखाऊ आदेशको जवाफसँगै दिने तयारीमा छु', आइतबार गौतमले सर्वोच्च प्रशासनलाई पत्र पठाएपछि प्रतिक्रिया दिए ।
जबरालाई निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले ४ वटा प्रश्नको जवाफ माग गर्दै संघीय संसदका महासचिवलाई पत्र पठाएको थियो । तर त्यसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त पत्र कार्यान्वयनमा रोक लगाउँदै विपक्षीसँग ७ दिनभित्र लिखित जवाफ माग गर्ने आदेश दिएको थियो ।
सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयानुसार आफूलाई सोधिएको विषयको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफका क्रममा समावेश हुने भन्दै उनले पूर्ण बैठकले सोधेका प्रश्नको बारेमा भने तत्काल जवाफ दिएका छैनन् ।
गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै पत्र लेखेपछि विवाद बढेको थियो । सो पत्रका सम्बन्धमा सर्वोच्चको पूर्ण बैठकमा छलफल भई उनीसँग महाभियोग कसरी निष्प्रभावी भयो भन्ने प्रश्न लिखित रुपमा पठाइएको थियो ।
प्रतिकृया दिनुहोस