दिउँसो तीन प्रदेशका पहाडी भेगमा आंशिक बदली, राति देशभर मौसम सफा
काठमाडौं । दैनिक क्रमशः तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्न थालेको छ । यस्तो बेला चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ ।’
शनिबार बिहान प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए । उनका अनुसार यो पुनः बिहान ८:४५ बजे अपडेट गरिनेछ । त्यसै बेलाको तापक्रमलाई आजको आधिकारिक न्यूनतम तापक्रम मानिनेछ । साथै ८:४५ बजे देशका अन्य स्थानको न्यूनतम तापक्रम पनि महाशाखाले प्रकाशन गर्नेछ ।
प्रतिकृया दिनुहोस