एमालेमा दुई अध्यक्ष नहुने महासचिव पोखरेलको अडान
काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षले भनेजस्तो पार्टीमा दुई अध्यक्षको व्यवस्था गर्न नसकिने दोहोर्याएका छन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको एमाले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महासचिव पोखरेलले नेपाललाई दोस्रो अध्यक्ष दिन नसकिने बताएका हुन्।
यद्यपि पार्टी एकताका लागि अझै पनि प्रयास जारी रहने उनले बताए। आजको बैठकमा पनि नेपाल पक्ष अनुपस्थित भएको थियो।
पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति सार्वजनिक गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘पावर शेयरिङ’को कुरा नमिल्दा पार्टी एकता अघि बढेको छैन।
अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोही भएको आरोप लगाउँदै आएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन संसदमा मतदान गरेको भन्दै ओलीले आक्रोश व्यक्त गर्दै आएका छन्।
प्रतिकृया दिनुहोस