साउन ३० भित्र देशभर वडा कमिटी बनाउन माओवादीको निर्देशन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै कमिटीहरुलाई साउन ३० गतेभित्र सबै वडा कमिटीको गठन गर्न र पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकमा आउने केन्द्रीय सदस्यहरुले प्रदेश कमिटीबाट अद्यावधिक विवरण लिएर आउन निर्देशन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनले भने, ‘पार्टीका सबै कमिटीहरुलाई यही साउन ३० गतेभित्र देशभरिका सबै वडा कमिटीहरु गठन गर्न र त्यसको अध्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिइ आउन निर्देशन दिने निर्णय पनि गरेको छ।’
बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक १० दिन पर धकेल्ने निर्णय पनि गरेको छ। यसअघि पार्टीको केन्द्रीय कमिटी बैठक साउन २० गतेदेखि बस्ने भनिए पनि आवश्यक तयारी गर्न अझै केही समय लाग्ने भएकाले केन्द्रीय कमिटी बैठक साउन ३० गतेदेखि बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
सरकार गठनका लागि माओवादीको तर्फबाट पठाउने मन्त्रीहरुको सम्बन्धमा निर्णय लिन माओवादीको स्थायी कमिटी बैठक सोमबार ३ बजे पुनः बस्ने पनि उनले बताए। उनले भने, ‘स्थायी कमिटीको बैठक सरकार गठनको पूर्णता सम्बन्धी विषयहरुलाई छलफल गर्न भोलि पुनः ३ बजे स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको छ। आज अध्यक्ष प्रचण्डले सम्बन्धित घटकहरुसँग छुट्टाछुट्टै र सामूहिक रुपमा पनि वार्ता गर्ने निर्णय पनि गरिएको छ।’
बैठकले केही दिन अघि महाकाली नदीमा भारतीय एसएसबीले नेपाली नागरिक तर्दातर्दैका तुइन खुस्काइदिएका कारण एकजना बेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीउपर कारबाही गर्न र भारत सरकारसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन मागसमेत गरेको छ।
प्रवक्ता श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले संविधान र लोकतान्त्रिक मूल्य, मान्यताका विरुद्ध गतिविधि गरिरहेको भन्दै माओवादीले संवैधानिक ढंगबाट लोकतान्त्रिक मूल्य, मान्यता अनुरुपको नयाँ सरकार गठन गर्ने पहल गरिरहेको पनि बताए।
प्रतिकृया दिनुहोस