सशस्त्रका डीआईजी श्रेष्ठको अवकाशपछिको उतारचढाव : अब लगातार दुई ब्याचका चार आईजीपी

Dig all

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्काे ब्याचका दुई जना नेतृत्वमा पुग्ने देखिएको छ । उमेर हद, सेवा अवधि र पदावधि गरी तीनवटा अवकाशको व्यवस्था रहेको सशस्त्र प्रहरीमा यस्तो अवस्था बिरलै आउने गर्छ ।

वर्तमान आईजीपी शैलेन्द्र खनालको चारवर्षेे सेवा अवधि (आईजीपीको कार्यकाल) सकिएपछि छोटो समयका लागि उनकै ब्याचका एक जना नेतृत्वमा पुग्ने बाटो खुला भइसकेको अवस्थामा फेरि अर्काे ब्याचका दुई जना सशस्त्रको नेतृत्वमा रहने देखिएको छ ।

साढे दुईवर्षे आईजीपीका हकदार प्रवीणकुमार श्रेष्ठलाई नायब महानिरीक्षक (डीआईजी)बाटै जबर्जस्ती घर पठाइएपछि यो स्थिति आएको हो ।

सशस्त्र प्रहरीमा आईजीपीको अवकाश ५८ वर्ष उमेर हद, ३० वर्षेे सेवा अवधि र चार वर्ष पदावधिका कारण हुने गर्छ । यी तीनमध्ये जुन पहिला पूरा हुन्छ, त्यहीअनुसार अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

हालका आईजीपी खनाल भने आईजीपीको चारवर्षेे पदावधिका कारण आगामी २८ चैतमा घर जाँदै छन् । १९ वैशाख २०४९ मा नेपाल प्रहरीको निरीक्षक पदमा सेवा प्रवेश गरेका उनको ३० वर्षेे सेवा अवधि १८ वैशाख २०७९ मा सकिने भए पनि आईजीपीको चारवर्षेे पदावधिका कारण उनले २१ दिनअगावै अवकाश पाउने भएका हुन् ।

उनले २८ चैतमा अवकाश पाएपछि २१ दिनका लागि खनालकै ब्याचका पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक जना नेतृत्वमा पुग्नेछन् । ३० वर्षेे सेवा अवधिका कारण सशस्त्र प्रहरीमा यसअघि किशोरकुमार लामा १४ दिने आईजीपी बनेका थिए ।

हालका आईजीपी खनालको ब्याचले १८ वैशाख २०७९ मा अवकाश पाएपछि १८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा सेवा थालेर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका राजु अर्याल र नारायणदत्त पौडेलमध्ये एक जना सशस्त्रको नेतृत्वमा पुग्नेछन् ।

दुवै जना अहिले डीआईजी छन् । त्यसो त अर्याल र पौडेलसँगै डीआईजी बनेका चन्द्रप्रकाश गौतमले पनि नेतृत्वमा पुग्न कसरत गर्नेछन् । तर, विवादित छवि, कमजोर कार्यसम्पादन, प्रतिकूल राजनीतिक अवस्थाका कारण उनको सम्भावना देखिँदैन ।

१८ चैत २०५४ मा प्रहरी सेवामा प्रवेश गरेकाले अर्याल र पौडेलको ३० वर्षेे सेवा अवधि १७ चैत २०८४ मा मात्रै पूरा हुन्छ । जबकि १९ वैशाख २०७९ मा आईजीपी बन्दा आईजीपीको चारवर्षेे कार्यकाल १८ वैशाख २०८३ मै पूरा हुन्छ । त्यसैले अर्याल र पौडेलमध्ये पहिला जो आईजीपी भए पनि पछि उनीहरूमध्ये नै एक जना आईजीपी हुनेछन् ।

त्यसो त नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनमा आईजीपीको कार्यावधि तीन/तीन वर्ष राख्ने गृहकार्य भइरहेको छ । आईजीपीको कार्यअवधि घटाएर तीन वर्ष राखेको अवस्थामा अर्याल र पौडेल दुवै जना तीन/तीन वर्ष नेतृत्वमा रहनेछन् ।

अबको करिब १० महिनामा सशस्त्रको नेतृत्व अर्याल र पौडेलमध्ये एक जनाको हातमा जानेछ । स्रोतका अनुसार, आईजीपी बन्नकै लागि उनीहरू मरिहत्ते गर्ने पक्षमा छैनन् । सरकारले जसलाई बनाए पनि मिलेरै अघि बढ्ने र सशस्त्रको छवि उच्च बनाउन दुवै जना लाग्ने समझदारी उनीहरूबीच भएको छ । यो समाचार राजधानी दैनिकमा छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...