विप्लवद्धारा दार्चुला घटनाको विरोधमा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकालीमा नेपाली खसेर बेपत्ता भएको घटनाको विरोधमा देशव्यापी आन्दोलन घोषणा गरेको छ।
विप्लव नेतृत्वको नेकपाले दार्चुलामा तुइन काटिएको घटनाको विरोधमा दुई दिने देशव्यापी आन्दोलनको घोषणा गरेको हो।
‘तुइन काटिदिँदा नेपालि बेपत्ता भएको घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारवाही, पीडितलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाविरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ,’ पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा आज (शनिबार) दिउँसो ३ बजे नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने र सोमबार दिउँसो २ बजे देशव्यापी विरोध सभा गर्ने उल्लेख छ। भारतीय सुरक्षाकर्मीले शुक्रबार तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी महाकालीमा खसेर वेपत्ता भएका थिए। उनको अवस्था अझै अज्ञात छ।
प्रतिकृया दिनुहोस