निर्वाचन आयोगविरुद्ध महन्थ ठाकुर सर्वाेच्चमा (रिटको पूर्णपाठसहित)
काठमाडौं । जनता समाजवादी पार्टीं (जसपा) को विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको भन्दै निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।
बिहीबार सर्वोच्च अदालतमा दर्ता गरिएको रिटमा आयोगको आदेशले पार्टी विभाजन हुने र पार्टी विभाजन हुँदा केन्द्रीय नेतृत्वको प्रयोजन समाप्त भई आफू लगायतलाई अपूरणीय क्षति हुने भएकाले आयोगको निर्णय कार्यान्वयन नगर्न, नगराउन ठाकुरले उत्प्रेषणको आदेश माग गरेका छन् ।
आयोगले ११ साउनमा जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ ।
आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै ठाकुरले रिटमा १ असार २०७८ मा आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग समेत गरेका छन् ।
‘निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकाले म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरी पाउँ’, ठाकुरको रिटमा भनिएको छ ।
प्रतिकृया दिनुहोस