नेपाल भित्रिने लगानी भन्दा बाहिरिनेमा वृद्धि

Dahgae4r

कोभिड–१९ का कारण देशको अर्थतन्त्र अति प्रभावित छ । अर्थतन्त्रका समग्र सूचकहरू उत्साहप्रद छैनन् । गत आर्थिक वर्ष २०७७÷७८ मा खर्च र राजस्वको संशोधित लक्ष्य पूरा गर्न पनि सरकार असफल भएको छ । अर्थतन्त्र सङ्कुचित हुँदा आन्तरिक मात्र नभई बाह्य परिस्थितिमा पनि सुधार देखिँदैन ।

गत आर्थिक वर्षमा अर्थतन्त्रको बाह्य क्षेत्रअन्तर्गतको विदेशी लगानी पनि प्रभावित रह्यो । विदेशी लगानीका लागि आधारभूत कानुनी सुधारबाट अघि बढेको सरकारका लागि त्यसको लाभ लिने समयमा कोभिड–१९ तगारो बनेको छ अर्थात् नेपाल भित्रने विदेशी लगानी गत आवमा घटेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म १६ अर्ब ५९ करोड ८० लाख रुपियाँ मात्र विदेशी लगानी भित्रिएको छ । जब कि अघिल्लो वैशाखसम्म १८ अर्ब ९१ करोड रुपियाँ विदेशी लगानी भित्रिएको तथ्याङ्क छ । एक वर्षको यो अवधिमा नेपाल भित्रिने विदेशी लगानी सवा दुई अर्ब रुपियाँभन्दा बढीले घटेको छ ।

नेपाल भित्रिने विदेशी लगानी घटे पनि नेपालमा गरेको विदेशी लगानीबापत नाफा, लाभांश वा लगानी फिर्ता लैजाने (रिपाटेसन) क्रम भने बढेको छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म ३९ करोड ६७ लाख रुपियाँ नेपालबाट फिर्ता गएको छ । अघिल्लो वैशाखको तुलनामा यो करिब दोब्बरले बढी हो । २०७७ वैशाखमा नेपालबाट १९ करोड ९८ लाख रुपियाँ फिर्ता भएको तथ्याङ्कले देखाउँछ ।

विदेशी लगानी मात्र हैन, विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत बनेको पर्यटक आगमनबापतको आम्दानी पनि कोभिड–१९ ले सबैभन्दा प्रभावित बनेको छ । उडान तथा विदेशी पर्यटकमाथि लगाइएको प्रतिबन्धले पर्यटनबापत नेपालले आर्जन गर्ने आम्दानी अहिलेसम्मकै सबैभन्दा खराब अवस्थामा पुगेको छ । भ्रमण शीर्षकअन्तर्गत राखिने त्यस्तो आम्दानीबापत नेपालले वैशाखसम्म छ अर्ब ६५ करोड रुपियाँ मात्र आम्दानी गरेको छ । अघिल्लो वैशाखमा यस्तो आम्दानी ५८ अर्ब ६२ करोड रुपियाँ थियो ।

नेपालबाट भ्रमण शीर्षकमा बाहिरिने रकम पनि कोभिड–१९ ले घटाएको छ । यद्यपि नेपाल भित्रिने रकमको तुलनामा भने त्यसरी बाहिरिने रकम अत्यधिक बढी देखिन्छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म भ्रमणबापत ३० अर्ब ६५ करोड रुपियाँ नेपालबाट बाहिरिएको छ ।

अघिल्लो वैशाखमा ५१ अर्ब ८३ करोड रुपियाँ नेपालबाट बाहिरिएको तथ्याङ्क छ । यो हिसाबले एक वर्षको अन्तरमा भ्रमणबापत बाहिरिने रकम २१ अर्ब रुपियाँभन्दा बढीले घटेको देखिन्छ । यद्यपि भ्रमणबापत नेपाल भित्रिनेभन्दा बाहिरिने रकम २४ अर्ब रुपियाँले बढी देखिन्छ ।

विभिन्न शीर्षकमा नेपाल भित्रिने रकम घट्दा करिब २२ महिनापछि देशको शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपियाँले घाटामा पुगेको छ । अघिल्लो वैशाखसम्म शोधनान्तर स्थिति एक खर्ब ७९ अर्बले बचतमा थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...