पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज ४ बजे बस्ने, यस्तो छ कार्यसुची
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनर्स्थापना गरेपछि पहिलो पटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आज अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन् ।
पुनःस्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।
असार २९ मा प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन सके यही सरकारले बाँकी १७ महिनाको संसदको कार्यकाल पूरा गरेर चुनाव गराउनेछ भने विश्वासको मत प्राप्त गर्न नसकेको मुलुक अग्रिम चुनावमा जानेछ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।
त्यसैगरी शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।
आजै अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक पनि बस्दैछ। अघिल्लो सरकारले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि हठात् राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो ।
सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए। अधिवेशनको प्रारम्भमा दलका नेताहरुले संसद बैठकलाई सम्बोधन गर्न सक्नेछन् ।
प्रतिकृया दिनुहोस