राष्ट्रपति भण्डारी ओलीको कार्यकर्ता जस्तो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीका कार्यकर्ताजस्तो बनेको आरोप लगाएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा सभापति देउवाले राष्ट्रपति भण्डारीले देशको हितको भन्दा बढी प्रधानमन्त्रीको कार्यकर्ता भएर काम गरेको आरोप लगाउँदै सबैभन्दा दुःख त प्रधानमन्त्रीसँग भन्दा पनि राष्ट्रपतिका काम गराईप्रति दुःख लागेको बताए ।
प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको उनको भनाइ छ । तर, संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएको भन्दै देउवाले आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपतिले संविधानअनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा नगरेपछि आफूहरु अदालत जानुपरेको उनको जिकिर छ ।
‘राष्ट्रपतिलाई हामीले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपछि उहाँलाई शंका लागेको भए सनाखत गर्न सक्नुहुन्थ्यो । उहाँले त ओलीको कार्यकर्ता जस्तो बनेर काम गर्नुभयो’ देउवाले भने, ‘भारतमा पनि यस्तो अभ्यास गरिएको छ तर यहाँ राष्ट्रपतिले केही गर्दै नगरी संसद विघटन गर्नुभयो ।’
प्रतिकृया दिनुहोस