प्रदेश ७ को प्रदेश सभा बैठकमा निर्मलासँगै माया विकको चर्चा
धनगढी । प्रदेश नं ७ प्रदेशसभाको बैठकमा सांसदहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना पुग्दासमेत अपराधी पत्ता नलगाएका भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
सांसदहरुले कैलाली र कञ्चनपुरमा बलात्कारपछि भएका हत्याको घटनाका पीडित पक्षलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउन सभा र सरकारको समेत ध्यानाकर्षण गराए ।
उनीहरुले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सनी खुनाको मृत्यु भएको घटना दुःखद् भएको बताएका छन् । बलात्कार र हत्या घटना भएको झण्डै एक महिनासम्म पनि दोषीलाई पक्राउ गर्न नसक्नुमा सरकारको कमजोरी रहेको आरोप पनि लगाएका छन् ।
उनीहरुले समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न नसकिए सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै जनताले प्रश्न उठाउन सक्नेतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिए ।
बैठकको विशेष समय र शून्य समयमा उठाइएका प्रश्नको जवाफ दिदैं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले अपराधीलाई दण्डित गर्न, पीडितलाई राहत दिन र शान्ति सुव्यवस्था कायम राख्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।
मन्त्री शाहले कञ्चनपुरकी निर्मला पन्त र सनी खुना तथा गएको असारमा बलात्कारपछि हत्या गरिएकी कैलाली गौरीगङ्गा नगरपालिकाकी–२१ वर्षीया माया विकको परिवारलाई जनही रु. पाँच लाख राहत दिने निर्णय प्रदेश सरकारले गरिसकेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस