चीनबाट आउने रेलको अन्तिम स्टेशन टोखामा
काठमाडौं । नेपाल-चीन सीमापार रेल आयोजना पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका सन्दर्भमा नेपाली र चिनियाँ अधिकारीहरुबीच भदौ पहिलो साता चीनको सियान सहरमा छलफल भएको छ ।
नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधु सुदन अधिकारीको नेतृत्वमा गएको उच्चस्तरीय टोलीले चिनीयाँ पक्षबाट राष्ट्रिय रेल प्रशासनका उप-प्रशासकको नेतृत्वको सरोकारवालाहरुको टोलीसँग छलफल गरेको मन्त्रालयले जानकारी गराएको छ ।
परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार नेपालको सीमा रसुवागढीदेखि काठमाडौंसम्मको लम्बाई करिब ७२ किलोमिटर हुने यस रेलमार्गको अधिकांश भाग सुरुङ्ग र केही अग्ला पुलहरु हुँदै काठमाडौंको टोखामा अन्तिम स्टेशन हुनेछ ।
यस प्रतिवेदनमा दुवै पक्षबाट दिइएका सुझावहरु समेटेर केही दिनभित्रै चिनियाँ डिजाइन परामर्शदाताले अन्तिम प्रतिवेदन बुझाउने जनाइएको छ । तत्पश्चात् दुवै सरकारको सहमतिमा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन हुने मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस