खानेपानी समस्या समाधानको पर्याय बन्दै लुमन्ती

Tokha

टोखा, काठमाडौं । काठमाडौंको उत्तरी नाका टोखा । पर्यटकीय र ऐतिहासिक महत्व बोकेको ठाउँ । तर, यही ठाउँका बासिन्दा लामो समयसम्म खानेपानीको समस्याले ग्रस्त बने ।

आजभोली टोखामा खानेपानीको कुनै समस्या छैन । जुन समस्याको समाधान लुमन्तीले गरिदियो । घरघरमा भनेजति खानेपानी आएपछि स्थानीय मख्ख परेका छन् ।

केही वर्ष अगाडिसम्म स्थानीय महिलाहरुले खानीपानीका लागि राती १० बजेसम्म लाइनमा बस्नुपरेको थियो । त्यति मात्रै होइन, घण्टौसम्म लाइनमा पनि बस्नुपरेको थियो । कहिले काहीँ त सरकारी धारामा विहान ४ बजेदेखि नै खानेपानी थाप्नेको लाइन हुन्थ्यो ।

जागे टोखाबासी, आयो पानी
टोखामा खानेपानीको अभाव बढ्दै गएपछि टोखाबासीले २०६७ मा टोखा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति बनाए । उनीहरुको सक्रियतालाई तत्कालिन टोखा चण्डेश्वरी तथा टोखा सरस्वती गाविस (हाल टोखा नगरपालिका), जिल्ला विकास समिति काठमाडौं, लुमन्ति आवासको लागि सहयोगी समूह लगायतले साथ दिए ।

स्थानीय जनता पनि उत्तिकै सक्रिय बने । स्थानीयको सक्रियतालाई लुमन्तीले साथ दिएपछि नजिकैको शिवपुरी जलाधार क्षेत्रबाट खानेपानी ल्याइयो । अन्नतः सधैंका लागि खानेपानीको समस्या समाधान भयो । अहिले सबैको घरघरमा खानीपानीको धारा छ । समयमै पानी आउँछ । स्थानीय पनि दंग छन् ।

टोखामा खानेपानीको समस्या समाधान गर्न लुमन्तीले निक्कै पहल गरेको छ । लुमन्तीकै पहलमा सरकारी र गैरसरकारी निकायबाट गरी दुई करोड ८६ लाख १७ हजार सात सय ८३ र उपभोक्ताको सहभागिता एक करोड ६५ लाख २७ हजार दुई सय ६७ रुपैयाँं अनुदान आएको थियो । यसमा लुमन्तिले मात्रै एक करोड ७९ लाख ८२ हजार आठ सय ५४ दिएको थियो । खानेपानी निर्माणमा भने हालसम्मको खर्च ४ करोड ५१ लख ४५ हजार ५० रुपैयाँं खर्च भइसकेको छ ।

टोखाको खानेपानीको समस्या समाधान गर्न समुदाय लागेपछि सफलता हात लागेको रत्नकुमारी श्रेष्ठ बताउँछिन् । फरकफरक विचारधारा रहे पनि समुदायका लागि सबै राजनीतिक पार्टीहरु एकठाउँमा आएर समुदायको लागि भनेर काम थालेपछि टोखामा खानेपानीको दुःख हटेको उनको अनुभव छ ।

लाभान्वित धेरै
टोखामा अहिले टोखा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति निक्कै सक्रिय बनेको छ । यसले अहिले एक हजार दुई सय ६० वटा निजी धारा जडान गरिसकेको छ । अहिले झण्डै १५ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भइरहेका छन् । टोखामा नीजि मात्रै होइन, ८ वटा सार्वजनिक धारा पनि छन् ।

अहिलेसम्म टोखा नगरपालिका वडा नं २ र ३ मा घरघरमा पानी वितरण गरिएको छ । अन्य वडाहरुमा पनि खानेपानीको धारा वितरण गर्ने योजना समितिले बनाएको छ ।

समितिले शिवपुरी जलाधार क्षेत्रको खानेपानी मात्रै वितरण गरेको छैन, डीप ट्युववेलबाट पनि पानी निकालेर स्थानीयलाई वितरण गर्दै आएको टोखा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष माइला डंगोल बताउँछन् ।

१५० मै महिनाभर पानी
समितिले धारा जडान गर्दा परिवारहरुसँंग शुल्क पनि उठाउँंदै आएको छ । धार जडानको दर पनि फरकफरक छ । समितिले धारा जडान गर्दा न्युनतम १० हजारदेखि १५ हजारसम्म छ ।

समितिले स्थानीय उपभोक्तासँग खानेपानी जडान गर्दा पनि र खानेपानी दिएपछि पनि शुल्क उठाउँदै आएको छ । समितिले खानेपानी वितरण गरेवापत मासिक एक सय ५० राखेको छ । यो न्यून शुल्क हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...