यी हुन् ‘आइलागेको’ पद सम्हाल्ने भाग्यमानी मिश्र

Misra sarboch adahalat

काठमाडौं । भनिन्छ भाग्यमा छ भने घुमिघुमि आउँछ । त्यस्तै भएको छ वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रका लागि ।

वरिष्ठ न्यायाधीश मिश्र प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि कायममुकायम प्रधानन्यायाधीश बनेका छन्, जुन उनका लागि ‘आइपरेको’ पद हो ।

संसदीय सुनवाइ समितिले जोशीको नाम अनुमोदन गरेको भए २३ असोज २०७६ सम्म प्रधानन्यायाधीशका रूपमा रहने थिए । त्यसअगावै यही पुसमा मिश्र ६५ वर्षे उमेर हदका कारण अवकास पाउने थिए । संसदीय समितिले जोशीको नाम अनुमोदन नगर्दा मिश्रलाई कायममुकायम प्रधानन्यायाधीश बन्न पाउने अवसर जुरेको छ ।

संसदीय सुनवाइ समितिको १८ साउनको निर्णय नआउँदासम्म मिश्रले आफू न्याय सेवाको सर्वोच्च पदमा पुग्छु भन्ने सायदै कल्पना गरेका थिए होलान् । तर, उनले आइतबारदेखि सोही पद समालेका छन् ।

पहिलोपटक आइतबारदेखि कामु प्रधानन्यायाधीश बन्ने अवसर पाएपछि उनले आइतबार १० इजलासमा ४६६ पेसी तोके । उनले तोकेका पेसीमध्ये ४६ मुद्दाको फैसलासमेत भयो । उनले कामुको हैसियतमा आफूसहितको इजलासमा तोकेको ५७ पेसीमध्ये ४ मुद्दाको फैसला नै गरे ।

को हुन् भाग्यमानी मिश्र ?
अधिकृतबाट न्याय सेवा प्रवेश गरेका मिश्रका लागि प्रधानन्यायाधीश एक प्रकारले ‘आइलागेको’ पद हो । २८ वर्षको उमेरमा १० कात्तिक २०३८ मा न्याय सेवामा प्रवेश गरेका उनी ३७ वर्षपछि सेवाको सर्वोच्च पदमा नेतृत्व समाल्न पुगेका छन् ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका मिश्र रूपन्देहीको रायपुर गाउँपालिकामा १८ पुस २०१० मा जन्मिएका हुन् । न्याय सेवामा अधिकृतका रूपमा चार वर्ष बिताएपछि उनी १६ वैशाख २०४२ मा अतिरिक्त जिल्ला न्यायाधीश भएका थिए । उनले मध्यपश्चिम क्षेत्रीय अदालत सुर्खेतमा अतिरिक्त जिल्ला न्यायाधीशबाट काम सुरु गरेका थिए । मिश्रलाई ९ चैत २०४६ मा जिल्ला न्यायाधीश बनाइएको थियो ।

१६ वर्ष जिल्ला न्यायाधीशका रूपमा देशका विभिन्न जिल्लामा सेवा गरेका मिश्र १४ फागुन २०६२ देखि तत्कालीन पुनरावेदन (हाल उच्च अदालत) अदालतमा करिब ८ वर्ष न्यायाधीश भए । उनी ११ जेठ २०७० मा पुनरावेदनको मुख्य न्यायाधीश भएका थिए ।

मुख्य न्यायाधीश भएको एक वर्षपछि १३ जेठ २०७१ मा मिश्रलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिको थियो । संवैधानिक परिषद्को बैठकले परम्परा नतोडेमा वा कुनै आश्चर्य नभए मिश्र प्रधानन्यायाधीशका लागि सिफारिस हुनेछन् । संसदीय सुनवाइ विशेष समितिले अनुमोदन गरेमा मिश्र २८औं प्रधानन्यायाधीश हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...