३२ हजार सरकारी कर्मचारी हटाइँदै !
काठमाडौं । मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई सरकारले हटाउन लागेको छ ।
सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छाड्नुपर्ने भएको हो ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले ३२ हजार कर्मचारी सरकारले नाटकीय ढंगले हटाउन लागेको भन्दै आन्दोलन सुरु गरेको छ ।
केन्द्र सरकारले सञ्चालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन ।
अहिले मन्त्रालय, विभाग र महाशाखा आधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छाड्नुपर्ने भएको हो ।
सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कटौती गरेको छ भने मन्त्रालयका महाशाखाहरूसमेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो ।
जागिर जान लागेका कर्मचारीको विरोधका कारण सरकारले तीन महिनाको समय थप गरेर उनीहरूको व्यवस्थापनको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा दिएको छ ।
कर्मचारीहरूले भने पाँच दिनभित्र सरकारले आफूहरूको व्यवस्थापन गर्नुपर्ने र स्थायी गर्नुपर्ने माग राखेर अल्टिमेटम दिएका छन् ।
प्रतिकृया दिनुहोस