नाम कमाएका उद्योगकै उत्पादन गुणस्तरहीन, रमपम चाउचाउ नै न्युन गुणस्तरको
विराटनगर । ठूला औद्योगिक घरानाले सञ्चालन गरेका नाम चलेका उद्योगबाट उत्पादित खाद्यान्न न्युन गुणस्तरको भेटिएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका साथै झापा जिल्लामा समेत सञ्चालनमा रहेका १३ वटा ठूला र नाम चलेका उद्योगबाट उत्पादित चामल, दाल, तेल, चाउचाउ न्युन गुणस्तरको फेला परेको हो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले तयारी खाद्य बस्तुको गुणस्तर परिक्षण गर्ने क्रममा सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित ठूला ८ वटा र झापाका ५ वटा उद्योगबाट उत्पादित बस्तु न्युन गुणस्तरको फेला परेको छ ।
जसमा एशियन थाई फुड्स प्रालिबाट उत्पादित तयारी चाउचाउ रमपम, श्री बाबा भेजिटेबल आयलबाट उत्पादित सोयाबिन तेल, बागमती आयलको सनफ्लावर तेल, सागरमती फुड्सका उत्पादन बोर्नेटेड बेभरेज, धिरज चामल उद्योगको चामल, तरहरा सपिङ सेन्टरको रहरको दाल, विमल फुड्सको विमल भुजिया, हरि टी इण्डष्ट्रिजको चिया, नेपाल चिया विकास निगमको चिया न्युन गुणस्तरको फेला परेको हो ।
जसमा मध्ये एशियन थाई फुड्स प्रालिबाट उत्पादित रमपम चाउचाउ विदेशसमेत निर्यात हुँदै आएको छ ।
उद्योगविरुद्ध मुद्दा
गत आर्थिक वर्षको अन्ततिर क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ती उद्योगबाट उत्पादित बस्तुको नमूना संकलन गरी परीक्षण गरेको थियो ।
उपभोक्ताको दैनिक भान्सामा पाक्ने चामल, दाल, तेल, तयारी चाउचाउ, जस्ता खाद्यान्न न्युन गुणस्तरको भेटिएपछि त्यस्ता उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ । सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा उद्योगविरुद्ध खाद्य ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।
‘नेपाल सरकारले गुणस्तरको स्तर सबै बस्तुमा तोकेको छ,’ कोइरालाले भने, ‘गुणस्तरको मात्रा अपुग भेटिएका उद्योगविरुद्ध प्रचलित ऐनअनुसार कार्वाहीको लागि प्रक्रिया अघि बढाइएको छ ।’
प्रतिकृया दिनुहोस