पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन
रत्ननगर । विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार साँझ ५ः३० बजेबाट दुईतर्फी नै सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका–२९ घुमाउने र इच्छाकामना गाउँपालिका– ६ स्थित जलवीरेमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालन भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घुमाउनेमा बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको थियो । गाडीको चाप अत्यधिक भएपछि बीचमा अड्किएको गाडी पठाएर पुनः गाडी रोकी पहिरो पन्छाएपछि दिउँसो सो स्थानमा २ः४५ बजे सडक खुलाइए पनि जलवीरेमा पुनः पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको थियो ।
इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा २ः५५ बजे खसेको पहिरो हटाएर साँझ ५ः३० बजेबाट भने दुईतर्फी नै सडक खुलाइएको प्रहरीले जनाएको छ । अहिले बिहानदेखि रोकिएका सवारीहरु गन्तव्यतर्फ गइरहेको छ ।
प्रतिकृया दिनुहोस