प्रधानन्यायाधीशमा जोशीकोे नाम अस्वीकृत
काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको शुक्रबारको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो ।
सत्तारुढ दल नेकपाका ९ र फोरमका एक सांसदले जोशीको विपक्षमा मत हालेका हुन् । १५ सदस्यीय सुनुवाइ समितिमा राजपाबाट सदस्य रहेका लक्ष्मणलाल कर्ण जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका कारण मतदान गरेनन् । कर्णले जोशीलाई अस्वीकृत गर्ने र स्वीकृत गर्नुपर्छ भन्ने दुबै पक्षले लिखित रुपमै मत राखेको बताए ।
कांग्रेसका चार सांसदले जोशीलाई अनुमोदन गर्नुपर्ने कारण लिखित रुपमै राखेका छन् । ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं’ उनीहरुले भनेका छन् ।
शैक्षिक प्रमाणपत्र विवाद र केही ‘विवादित फैसला’का कारण सत्तासीन नेकपा जोशीको सिफारिस दुईतिहाइबाट अस्वीकृत गरिएको हो । यसअघि गत बुधबारको बैठकबाट जोशीको नाम अस्वीकृत गर्ने तयारी गरेको नेकपाले प्रमुख विपक्षी कांग्रेसले बैठक नै बहिष्कार गर्ने चेतावनी दिएपछि दुई दिन बैठक स्थगित गर्न सहमत भएको थियो ।
प्रतिकृया दिनुहोस