बाढी आयो, गोही ल्यायो ! मानव बस्तीमा त्रास
धनगढी । कैलाली जिल्लाको बाढीबाट अतिप्रभावित भजनी र टीकापुर नगरपालिका क्षेत्रमा गोहीले त्रास सिर्जना भएको छ ।
विगतका वर्षझै चालू वर्षमा पनि स्थानीय नदीमा बाढीसँगै बगेर आएका मगर गोही र घडियाल प्रजातिका गोहीको त्रास सिर्जना भएको हो । स्थानीय मोहना, कान्द्रा, काँढा, पथरैयालगायत नदी तथा खोला नालामा रहेका गोहीहरू बाढीको बहाबसँगै मानव बस्तीसम्म पुग्ने गरेका छन् ।
बिहीवार भजनी नगरपालिका–२ मोहनपुरका स्थानीय पुन्सी डंगौराको अन्दाजी ७० किलोको बंगुरलाई मगर गोहीले आक्रमण गरी घाइते बनायो । काँढा नदीबाट आएको गोहीले घाइते बनाएको स्थानीय गंगा चौधरीले जानकारी दिए । स्थानीयको दर्जनौं हाँस कुखुरा समेत सखाप पारेको उनले बताए ।
पछिल्लो समय सो क्षेत्रमा गोहीको संख्या बढ्दै गएको बताइन्छ । स्थानीयमा संरक्षणको चेतना बढ्दै गएपछि गोहीको संख्यामा वृद्धि भएको हो । तर, उचित व्यवस्थापन नहुँदा ती गोहीहरू मानव बस्तीमा पसेर त्रास फैलाउन थालेको बताउँछन् संरक्षणकर्मी विजयराज श्रेष्ठ ।
गोहीको संख्या बढ्नु राम्रो पक्ष भएपनि राज्यका निकायले व्यवस्थापनमा ध्यान नदिँदा मानव बस्तीमा त्रास फैलिएको बताए । सो क्षेत्रमा पाइने डल्फिन, गोहीलगायत जलप्राणीहरूको उचित व्यवस्थापन गरिए पर्यटन प्रवद्र्धन गर्न सकिने समेत उनले बताए ।
उनकै अनुसार गत जेठमा भजनी नगरपालिकास्थित मोहना नदीको हलौना बाबा घाटमा माछा मार्ने क्रममा १ जनालाई गोहीले आक्रमणको प्रयास गरेको थियो । त्यस्तै, भनजी–८ सोनाफाँटा, भजनी नपा–३ दैलेखी टोल र टीकापुर नपा–७ बैदी कुन्तीपुरस्थिर ओजहुवा ताल क्षेत्रमा पनि गोहीले आतंक सिर्जना गरेको संरक्षणकर्मी श्रेष्ठले बताए । स्थानीयहरूको करीब १८–१९ केजीसम्मको बाख्रा, भेडाका साथै हाँस, कुखुरा समेत खाइदिने गरेको बताइएको छ ।
सो क्षेत्रमा आक्रामक, रिसाहा स्वभाव रहने मगर गोहीको संख्या करीब १ सय ५० र प्रायः वर्षात्मा मात्रै देखिने घडियाल प्रजातिको गोहीको संख्या करीब ४ दर्जन बढी रहेको अनुमान संरक्षणकर्मीहरूको छ । गत वर्ष भजनी नपा–८ कृष्णनगरकी जानकी चौधरीको घरमै गोही पुगेको थियो । घरसम्मै पुगेको गोहीमा अञ्जानमै उनका पति ठोक्किन पुगेका थिए । पछि आक्रमणको प्रयास गर्दै मगर गोही गोठमै छिरेको जानकी बताउँछिन् ।
गत वर्ष नै भजनी नगरपालिका–८ खैराका हरिराम आचार्य र टीकापुर नगरपालिका–७ ढुंगाना टोलका पदमराज ढुंगानाको बाख्रालाई गोहीले मारेको थियो । पछि बाख्रालाई मारेको गोहीलाई नियन्त्रणमा लिएर स्थानीयले काँढा नदीमा लगेर छोडेका थिए ।
चाँडै रिसाउने र आक्रमण गर्ने मगर गोहीले ठूला मान्छेलाई समेत मार्न सक्ने बताइएको छ । संरक्षण एउटा पाटो रहेपनि खतरनाक वन्यजन्तुबाट मानवीय क्षति हुन नदिनका लागि सचेत पार्न पनि जरुरी रहेको उनीहरूको ठहर छ ।
प्रतिकृया दिनुहोस