सिक्टामा विवाद : किसानका सपना अधूरै
काठमाडौं । निर्माण कम्पनी र सिँचाई विभागबीच विवाद हुँदा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण अधूरो रहेको छ ।
सन् २००९ देखि २०१५ सम्म कालिकाले तीन चरणमा सिक्टाको नहर बनाउँदा साढे ६ अर्ब रुपैयाँमा ठेक्का लिएको थियो । मूल नहरको काम सकिएपछि पटकपटक परीक्षण गर्दा नहर भत्किएपछि अब त्यो आयोजनाको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको छ ।
आर्थिक वर्ष ०६१÷६२ मा निर्माण सुरु भएको सिक्टामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । अबको दुई वर्षमा ३३ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्य लिइएको सो आयोजनाको मूल नहरमै समस्या देखिएको छ ।
दुई पटकसम्म सो नहर भत्किएपछि अब त्यो नहर कसले बनाउने भन्ने विवाद उत्पन्न भएको छ । विभागले भत्केको मूल नहर बनाउने दायित्व कालिकाको भएको बताइरहँदा आयोजनाले भने सन् २०१७ को जनवरीपछि ठेकेदारको दायित्व अवधि थपेको छैन ।
४५ किलोमिटर लामो मूल नहरमध्ये ४२ किलोमिटर बनाउने सिटिसिई कालिका ज्वाइन्ट भेन्चरले आफ्नो दायित्व सकिएको दाबी गरेको छ । सिँचाइ विभागले भने अझै पनि भत्केको नहर बनाउने दायित्व कालिकाकै भएको जिकिर गरेको छ ।
मूल नहरको समस्या समाधान उपाय ननिकाल्दै आयोजना कार्यालयले ९० करोडको बजेटमा शाखा नरहेको टेन्डर प्रक्रिया भने अघि बढाएको छ, जब कि आयोजनाले शाखा नहरको टेन्डर माग्दासम्म उसैले नियुक्त गरेको परामर्शदाताले अन्तिम प्रतिवेदन बुझाएको थिएन ।
सुरुको लक्ष्य अनुसार करिब १२ अर्ब रुपैयाँ लागतमा आयोजना सम्पन्न हुने अनुमान थियो । तर, दोस्रो गुरुयोजनामार्फत लागत खर्च र कामको परिमाण बढाएर सरकारले आर्थिक वर्ष ०७६/७७ भित्रमा सिक्टाको सम्पूर्ण काम सक्ने अठोट लिएको छ ।
आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ । हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।
परीक्षण गर्ने क्रममै नहर भत्किन थालेपछि सिक्टा सिँचाइ आयोजना दीर्घकालसम्म टिक्नेमा स्थानीयको शंका छ । आयोजना कार्यालयका अनुसार पश्चिम मूल नहरमा बन्ने सातवटा शाखा नहर निर्माणको काम अलपत्र अवस्थामा छ ।
सिधनिया शाखा नहर निर्माणको काम दुई वर्षदेखि अलपत्र छ । पटक–पटक भत्किने गरेको मूल नहरको १७.७ देखि ३५ किलोमिटरसम्मको दोस्रो खण्ड विवादित बन्न पुगेको छ । गत वर्ष २०७४ साउन १० मा ठेकेदार कम्पनी कालिका जेभीसँग सम्झौता भएको पूर्वी (बायाँ) मूल नहरको काम निकै सुस्त गतिमा चलिरहेको छ ।
२०७६ कात्तिक २५ गतेसम्म सम्पन्न गर्ने गरी तीन अर्ब चार करोड रुपैयाँमा ठेक्का दिइएको पूर्वी नहरमा ठेकेदारले हालसम्म ३९ करोड रुपैयाँ पेस्की लगे पनि तीन किलोमिटर ट्रयाक मात्र खनेको आयोजना कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस