प्रधानमन्त्रीको हातमा साढे ३३ किलो सुन तस्करीको ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन
काठमाडौं । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित समितिका संयोजक ईश्वरराज पौडेल लगायतका पदाधिकारीहरु पुगेर ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन ओलीलार्इ बुझाइएको हो ।
गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको र फागुनमा सनम शाक्यको हत्या भएपछि २०७४ चैत २० गते मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा अनुसन्धानछानबिनका लागि समिति गठन गरेको थियो ।
प्रारम्भिक चरणमा सरकारले समितिलाई ४५ दिनभित्र अनुसन्धान सक्न कार्यदेश दिएको थियो । तर त्यो समयसिमासम्म अनुसन्धान पूरा नभएपछि २५ दिनका लागि म्याद थप गरिएको थियो ।समितिले अनुसन्धानका क्रममा सुन तस्करीका मुख्य अभियुक्त चुरामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, छिरिङ वाङदेललगायतलाई पक्राउ गरेको थियो ।
यस्तै प्रहरीबाट पूर्वप्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, श्याम खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेललगायतलाई पक्राउ गरेको थियो ।
सुन तस्करी र सनम हत्यापछि ७५ जनाविरुद्ध अभियोजन मुद्दा दायर भएको छ भने ४५ जना पक्राउ परिसकेका छन् ।
प्रतिकृया दिनुहोस