अपराधीहरु निश्क्रिय जस्तै छन्, मौका मिल्नासाथ फेरी सक्रिय हुन्छन्ः गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालय सम्हाल्ने क्रममा अघि सारेका ८२ बुँदे कार्ययोजना मध्ये ७२ बुँदा कार्यान्वयनको चरणमा रहेका जानकारी दिएका छन् ।
८२ बुँदे मध्ये ७२ ओटा बुँदा केही कार्यान्वयनमा आईसकेको, केही कार्यान्वयनको प्रक्रियामा रहेको तथा १० बुँदा भने अझै काम सुरु नभएको विवरण मंगलबार मन्त्रालयमा आयोजित समीक्षा बैठकमा प्रस्तुत गरिएको थियो ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिए ।
गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे कार्ययोजनाको कार्यान्वयन सन्तोषजनक रहेपनि अझै गति बढाउन भनेका हुन् । उनले भने ‘प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन । अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो मान्य हुनेछैन ।’
मन्त्री थापाले मन्त्रालयले दिएको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनका लागि प्रतिवद्ध भएर काम गर्न मातहतका निकायहरुलई निर्देशन दिए। ‘अहिले हामी सक्रिय भएपछि अपराधीहरु निश्कृय जस्तो देखिएका छन्, मौका मिल्ने बित्तिकै उनिहरु फेरी सक्रिय हुन्छन्। त्यसैले उनीहरुको सञ्जाल तोडिनेगरी काम गर्नुहोस् ।’
उनले यो अवधीमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य, सुन तस्करी लगायतका क्षेत्रमा बेथिति अन्त्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिईने स्ष्पट पारेका थिए ।
बैठकमा गृह मन्त्रालय अन्तर्गतका महाशाखा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभागले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना अनुरुप आफुहरुले हालसम्म गरेका कामकारबाहीको विवरण प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस