नेपालको जलस्रोतमा ‘बुट’ प्रविधिमा लगानी गर्न इजरायल इच्छुक
काठमाडौं । नेपालको जलस्रोतमा लगानी गर्न इजरायले इच्छा प्रकट गरेको छ ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरबीच सोमबार भएको भेटवार्तामा राजदुत ओमरेले ‘बुट’ प्रविधिमबाट नेपालको जलस्रोतमा लगानी गर्ने इच्चा देखाएका हुन् ।
भेटमा उर्जामन्त्री पुनले नेपालमा नयाँ संविधान जारी भइसकेपछि स्थायित्वको युग सुरु भएको भन्दै इजरायली लगानीकर्तालाई उर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसँग आग्रह गरे । मन्त्री पुनले भने ‘हामीलाई १० बर्षमा १० हजार मेगावाट विजुलीको आवश्यकता छ अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको उर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्ताहरुलाई आग्रह गर्छु ।’
उनले इजरायलसँग धेरै लामो कुटनीतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गरे । लामो समयदेखि दुई देशको बीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहँदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार ईच्छुक रहेको धारणा राखे ।
उनले इजरायल नेपाली कामदारको लागि सुरक्षित गन्तव्यको रुपमा रहेको भन्दै आगामी दिनमा पनि इजरायलले त्यसमा सहयोग गर्ने अपेक्षा गरे ।
भेटमा इजरायली राजदूत ओमेरले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आतुर रहेको उल्लेख गरे । उनले उर्जामा लगानीको लागि इजरायलले पार्टनर खोजिरहेको भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न आफुहरु तयार रहेको धारणा राखे ।
‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायलबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागी हामी पार्टनर पनि खोजिरहेका छौ ।’ भेटमा राजदूत ओमेरले भने । उनले ‘बुट’ मोडलमा काम गर्न इजरायल ईच्छुक रहेको बताए ।
नेपाल इजरायलको पुरानो साथी भएको भन्दै राजदूत ओमेरले आगामी दिनमा समेत नेपाल र इजरायलको बीचमा द्धिपक्षीय सम्बन्ध मजवूत बन्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस