उपराष्ट्रपति पुनसहित दर्जनौलाई सम्मान
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसहित २० जनाभन्दा बढी सम्मानित भएका छन् ।
नेपाल–भारत आदिवासी मैत्री संघको आयोजनामा उपराष्ट्रपति पुनसहित संघलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान र प्रशंसापत्र वितरण गरिएको हो ।
उपराष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष बिनोदकुमार गुरुङले उपराष्ट्रपति पुनलाई र अन्यलाई उपराष्ट्रपतिले सम्मान गरे । आदिवासी जनजाति भएर पनि देशको उच्च पदमा पुग्न सफल भएको भन्दै उपराष्ट्रपतिलाई सम्मान गरिएको संघकी उपाध्यक्ष कमलाकुमारी गुरुङले बताइन् ।
संघले गृहमन्त्री रामबहादुर थापा, उर्जा तथा जलश्रोतमन्त्री वर्षमान पुन, नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपालका लागि भारतीय उपराजदुत अजय कुमार, उपराष्ट्रपतिको कार्यालयका वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङ, पत्रकार गंगा बराल, युगप्रसाद धमला (हरी), कीर्ति पाण्डे, सोमबहादुर पाण्डे, ललितबहादुर तामाङ, डा. भावना तामाङ, महावीर पुन, कमलाकुमारी गुरुङ, डा. डिबी गुरुङ, सोबिता गुरुङ, ज्ञानु गुरुङ लगायतलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
सो कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल र भारत बीचको आपसी सम्बन्ध स्थापित गर्न साँस्कृतिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपाल विविध भाषाभाषी र संस्कृति भएको देश भएकाले यसको पहिचान थप स्थापित गर्न सबैको योगदान रहनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष बिनोदकुमार गुरुङले आदिवासी जनजातिको हकहितको लागि छुट्टै मन्त्रालयको स्थापना गर्न सरकारी अधिकारीसँग पटकपटक छलफल भइरहेको बताए ।
प्रतिकृया दिनुहोस