प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ सर्यो, होला त बुधबार फाइनल ?
काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्रमा विवादमा तानिएका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ ।
गत शुक्रबार नै जोशीबारे निर्णय गर्ने बताइए पनि समितिको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । तर आइतबारको बैठक पनि एजेन्डामा प्रवेश नै गरेन । बरु सोमबारसम्मका लागि स्थगित गरिएको थियो ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे ‘विवेकपूर्ण’ निर्णय गर्न नेकपा अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरूलाई निर्देशन दिएका थिए । अध्यक्षद्धयको निर्देशनपछि समिति थप अन्योलपूर्ण बनेको छ ।
जोशीको सुनुवाई आज हुने बताइएको थियो । तर, सुनुवाइ विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णले जोशीबारे थप नयाँ केही निचोड ननिस्किएकाले बैठक सुनुवाइ सार्नुपरेको बताए । संसदीय सुनुवाइ विशेष समितिको बैठक बुधबारसम्मका लागि सरेको हो ।
१५ सदस्यीय समितिमा नेकपाका ९ जना सांसद छन् । समितिले बहुमतबाट प्रस्तावित नाम अनुमोदन गर्न पाउने भए पनि अस्वीकृत गर्न भने दुईतिहाइ बहुमत चाहिन्छ । जोशीबारे केकस्तो निर्णय गर्ने भन्नेमा नेकपाका सांसद नै अलमलमा थिए ।
शैक्षिक प्रमाणपत्रलगायत जोशीसमेतको इजलासले गरेका अधिकांश फैसलाबारे समितिले बिहीबार जोशीसँग छलफल गरेको थियो । तर, विवादित शैक्षिक प्रमाणपत्रबारे जोशीबाट स्पष्ट जवाफ नआएपछि भन्दै समितिमा उनको विषयमा निर्णय गर्न ‘अप्ठ्यारो’ परेको छ ।
प्रतिकृया दिनुहोस