साउनमै सबै जनवर्गीय संगठन एकता भइसक्ने
काठमाडौं । दुई पार्टीबीच एकता भएपछि हालै पार्टीको विधान र नियमावली टुंग्याएर नेकपाले साउनभरिमा जनवर्गीय संगठन र तल्लो तहका कमिटीको एकता सम्पन्न गर्ने बताएको छ ।
शनिबार पूर्व २ पार्टीका इन्जिनियरको एकता घोषणा गरेको नेकपाले आइतबार मजदुर विशेष जिल्ला कमिटीको एकताको टुंगोसमेत लगाएको छ ।
इन्जिनियरको संगठनमा ९५ सदस्यीय समिति बनाएको नेकपाले २ मजदुर संगठनको एकतापछि बन्ने एकीकृत मजदुर संगठनमा ७५ सदस्य रहने तय गरेको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । आइतबार बसेको दुईवटै जिल्ला समितिको बैठकले मजदुर संगठनको एकताको टुंगो लगाएको हो । मजदुरको विशेष जिल्ला समितिमा २५ जना सचिवालय सदस्य र अध्यक्ष तथा सचिवको व्यवस्था गरिएको छ ।
नेकपाले पार्टी एकता गरेसँगै जेठ ३ गते देखि लागू हुनेगरी तीन महिना जनवर्गीय संगठन र तल्लो तहका समितिको एकता प्रक्रिया टुंग्याइसक्ने जनाएको थियो । नेकपाले पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय सदस्यको टुंगो लगाइसकेको छ ।
श्रेष्ठले अधिकांश जनवर्गीय संगठनको एकताका लागि कार्यदलका सदस्यहरूले एकताको रूपरेखा तयार पारिरहेको र साउनभित्रैमा सबै जनवर्गीय संगठनको एकता टुंगिने दाबी गरे । ‘साउन मसान्तभित्रै पार्टीका सबै संगठनको एकता प्रक्रिया टुंगिन्छ, त्यसैका लगि सबै गतिविधि भइरहेका छन्,’ श्रेष्ठले भने । श्रेष्ठले एकताका क्रममा कुनै किसिमको समस्या नरहेको जानकारी दिए । ‘अहिलेसम्म सबै संगठनको एकता प्रक्रिया उत्साहजनक ढंगले भइरहेको, कुनै समस्या छैन,’ श्रेष्ठले भने ।
विद्यार्थी संगठनलगायतका अन्य संगठनको पनि एकता प्रक्रिया अन्तिम चरणमा पुगेको नेकपाले जनाएको छ । नेकपाले पार्टी एकता गरेसँगै जेठ ३ गते देखि लागू हुनेगरी तीन महिना जनवर्गीय संगठन र तल्लो तहका समितिको एकता प्रक्रिया टुंग्याइसक्ने जनाएको थियो । नेकपाले पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय सदस्यको टुंगो लगाइसकेको छ ।
हाल दुई पार्टीका संगठनको आन्तरिक एकतामा जुटिरहेको नेकपाले जनवर्गीय संगठनको एकता टुंगिएसँगै जनतामा जाने जनाएको छ । ‘आन्तरिक एकीकरण सम्पन्न भएसँगै पार्टी जनतामाझ जान्छ,’ नेकपाका महासचिव विष्णु पौडेलले भने । पौडेलले एकतालगत्तै संघ, प्रदेश र स्थानीय तहलाई लक्षित गर्दै पार्टीका कार्यक्रम तय गरिने बताए । पार्टीका अगुवा कार्यकर्तामा जागरुकता ल्याउन र एकताको सन्देश दिन तथा जनतामा समेत एकताको सन्देश दिन पार्टी जनतामाझ जाने पौडेलले जानकारी दिए ।
मदन भण्डारीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीको आन्तरिक एकीकरण सम्पन्न गरेलगत्तै नेकपा जनतामाझ जाने बताएका थिए । उनले एकतालगत्तै नेकपाले जनतामा जाने अभियान नै चलाउने बताएका थिए । कार्यक्रममा दाहालले पार्टी एकीकरणविरुद्ध प्रतिक्रियावादी शक्ति सक्रिय भइरहेकाले त्यसलाई तोड्न अभियान नै चलाएर जनतामाझ जाने जनाएका थिए ।
प्रतिकृया दिनुहोस