अझैं किन भएन प्रधानन्यायाधीशमा जोशी नियुक्ती ? यस्तो छ कारण
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको नाम हो दीपकराज जोशी । तर, सरकारले उनलाई प्रधानन्यायाधीश नबनाउने संकेत गरेको छ । बरु उनलाई राजीनामा दिए सम्मानजनक ढंगले विदाई गर्ने सन्देश दिएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि परेको उजुरीबारे शुक्रबार भएको संसदीय सुनुवाइको निर्णय आउन बाँकी नै छ । यही बेला सत्तापक्षले उनको राजीनामा नै उत्तम विकल्पको रुपमा लिएको छ ।
जोशी शैक्षिक योग्यताको प्रमाण पत्रका विषयमा विवादमा परेका छन् । यही विवादका कारणसंसदीय सुनुवाईकै क्रममा रहेका जोशीलाई संसदले अस्वीकृत गर्ने सम्भावना बलियो छ ।
सत्तारुढ नेकपा र संघीय समाजवादी फोरमको संसदीय सुनुवाई विशेष समितिमा दुई तिहाइ बहुमत छ । दुई तिहाइले अस्वीकृत गरेमा जोशी प्रधानन्यायाधीश बन्न पाउँदैनन् ।
जोशीका शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको देख्दा देख्दै प्रधानन्यायाधीशमा अनुमोदन गर्दा संसदीय सुनुवाईको औचित्य समाप्त हुने भन्दै सांसदहरुले पार्टी नेतृत्वलाई उचित निकास दिन आग्रह गर्दै आएका छन् ।
कांग्रेस भने जोशीको बचाउँमा लागेको छ । तर, नेकपाका नेताहरुले भने प्रमाणपत्र नै नक्कली भएको सन्दर्भमा छानविन गर्ने र विवेकसम्मत निर्णयमा पुग्न सल्लाह दिइरहेका छन् ।
प्रतिकृया दिनुहोस