मिर्गौला तस्करी गर्ने ५ जना पक्राउ
चितवन । मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा मिर्गौला तस्करी हुने गरेकोे छ ।
चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो ।
अन्ततः सोही टिमले चितवनबाट मिर्गौला तस्करी हुने गरेको पत्ता लगाएको छ । प्रहरीले मिर्गौला तस्करी गर्ने ५ जना गिरोहलाई पक्राउ पनि गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं.४ बस्ने ४१ का हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका–४ बस्ने वर्ष ३५ का विक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ बस्ने वर्ष २८ को प्रकाश तामाङ, मोरङको साविक बयरवन गाविस(६ बस्ने वर्ष ३४ का दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २८ का विशाल नेपाली रहेका छन् ।
दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको गलत फाईदा उठाई उनीहरुलाई प्रलोभनमा पारी गिरोहले मिर्गौला बिक्री वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मिर्गौला तस्कर समूहका बिक्रम पहारी, प्रकाश तामाङ र दिपक लिम्बुलाई यही साउन १ गते चितवनबाटै, दुर्गाबहादुर दर्जीलाई सोही दिन काठमाडौंबाट र विशाल नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरिएको बताइएको छ । यस्ता घटनामा अन्य थुप्रै व्यक्ति संलग्न भएको हुन सक्ने भन्दै थप अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १(१ वटा मिर्गौला बिक्री गरेको डिएसपी ढकालले जानकारी दिए । उनले भने, ‘सोझा सिधा तथा निमुखा सर्वसाधारणहरुलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालहरुमा सम्पर्क गराई मिर्गौला तस्कर गर्ने गरेको खुल्न आएको छ, थप अनुसन्धान गरिरहेका छौं ।’ उनीहरुले मिर्गौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराईदिए बापत १ जनाको मृगौला बिक्रीबाट ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमिशन लिने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेकोे बताए ।
पक्राउ परेका व्यक्तिहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । चितवनमा यस्ता किसिमका घटनाहरु हुने गरेकोबारे सामान्य जानकारी आएपछि प्रहरीको टिम नै परिचालन भई अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस