अब ३५ मिनेटमै नारायणगढ–मुग्लिन पार गरिने !
काठमाडौ । तराई क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक निर्माणको काम पुरा भएको छ । निमार्ण सम्पन्न भएसँगै अब यो सडकको यात्रा ३५ मिनेटमा छोटिएको छ ।
सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए । ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक ०७३ चैतमा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो ।
भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।
बिसुरालका अनुसार तीनवटा ठेक्कामा काम भएकोमा दुईवटाले काम सम्पन्न भएको प्रमाणपत्र पाइसकेका छन् । दोस्रो र तेस्रो ठेकेदारले प्रमाणपत्र पाएकोमा पहिलोको काम पनि करिब सम्पन्न भएको र, चाँडै प्रमाणपत्र पाउने तयारीमा रहेको उनले बताए ।
विश्वबैंकको करिब ३ अर्ब ९० करोड (३६ मिलियन अमेरिकी डलर) सहयोगमा सडक निर्माण भएको हो ।
यो नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन परियोजना (एनआइआरटिटिपी) अन्तर्गत निर्माण भएको हो । सो परियोजनामा कुल १० अर्ब रुपैयाँ लगानी गरिएको थियो । नेपालको व्यापारसँग सम्बन्धित पूर्वाधार विकासमा यो परियोजना केन्द्रित थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले सीमित वित्तीय तथा मानव स्रोत हुँदाहुँदै पनि पूर्वाधार परियोजनाहरू गुणस्तरीय बनून् र समयमै बनून् भनेर आफूहरू लागिरहेको बताए ।
राजमार्ग निर्माण सकिए पनि बर्खा लागेपछि पटक–पटक पहिरो गएर समस्या परिरहेको छ । यसबीचमा ५ ठाउँमा ठूलो पहिरो गएको आयोजना प्रमुख बिसुरालले जानकारी दिए । तर, पहिरो सफा गर्न डोजर तथा स्काभेटरहरू तयारी अवस्थामा राखिएकाले राजमार्ग लामो समय अवरोध नहुने उनले बताए । एक ठाउँमा भने करिब ३० मिटर सडक भासिएको छ।
पहिरो नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिए पनि बर्खा सुरु भएपछि समस्या आएको परियोजना हेरिरहेका विश्वबैंकका वरिष्ठ पारवहन विशेषज्ञ दीपक श्रेष्ठले बताए । सडक विभागले यो समस्यालाई दीर्घकालीन समाधान गर्न भौगर्भिक अध्ययन गर्न विज्ञ टोली पठाइसकेको विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले जानकारी दिए । उनले सडक भासिनुको कारण पनि खोजी गरिरहेको जानकारी दिए।
सडक ७ मिटर बने पनि पुल भने साँधुरा नै छन् । पुलको चौडाइ पुरानै सडकबराबर अर्थात् साढे ५ देखि ६ मिटर मात्रै छ । यस सडकखण्डमा कुल १८ वटा पुल छन् । त्यसमध्ये यही परियोजनाअन्तर्गत चार ठाउँमा पुरानो पुलको समानान्तर हुने गरी नयाँ पुलसमेत निर्माण हुँदै छन्। तर, बाँकी १४ वटा पुल निर्माणको टुंगो भने अहिलेसम्म नलागेको आयोजनाका संयोजक श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस