भिटोफको द्धितिय उपाध्यक्षमा धरेलको उम्मेदवारी
काठमाडौं । गाउँ, पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को मंगलबार हुने निर्वाचनमा तारालाल धरेलले द्धितिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आफु द्धितिय उपाध्यक्षका लागि अरु उम्मेदवार भन्दा सक्षम रहेको दावी पनि गरेका छन् । लामो समयदेखि पर्यटनको क्षेत्रमा काम गरेका धरेलले जिम्मेवार पदमा बसेर काम गर्न पाए केही योगदान गर्न सकिने भन्दै उम्मेदवारी दिएको बताएका छन् ।
२१ औं साधारणसभाले २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । धादिङको ज्यामरुङका स्थायी बासिन्दा उनले गाउँघरमा पनि पर्यटनको विकासमा योगदान गर्नेे योजना बनाएका छन् ।
उनले आफ्नै गाउँमा ३ सय थान कागतिका बोट किसानलाई दिने र त्यसबाट एकातिर पर्यटन प्रवद्र्धन हुने भने अर्कातिर आम्दानीको बाटो बन्ने बुझेर उनले यो योजना अघि बढाएका छन् ।
धार्मिक तथा सामाजिक महत्वका सम्पदाको संरक्षण गरी पर्यटनको विकास गर्न सकिन्छ भन्ने उनी ११ वर्षदेखि यो क्षेत्रमा लागेका छन् । मञ्च होमस्टे, ट्रेकिङलगायतको साझा संस्था भिटोफभित्र उनी इमान्दार र लगनशील यूवा व्यवसायीका रुपमा चिनिन्छन् ।
ध्रुव सिंखडाको समूहबाट उम्मेदवार बनेका उनले वार्षिक ५० लाख पर्यटक नेपाल भित्रयाउन पहल गर्ने, प्रत्येक वडामा १० वटा होमस्टे स्थापना गर्ने, पर्यटन प्रवद्र्धनमा सहयोग गर्नेलगायतका योजना अघि सारेका छन् । झण्डै ५ सय प्रतिनिधिद्धारा मतदान गर्ने छन् ।
‘म पद लिन र ठूलो मान्छे बन्नका लागि उठेको होइन, सबै व्यवसायीको हकहितमा काम गर्ने छु’ धरेलले भने ‘मलाई दिएको मत खेर जाने छैन, नेपाल पर्यटकको आकर्षक गन्तव्य हो, यसलाई चिनाउन सरकार, सरोकारवाला, व्यवसायीका साथै अन्य क्षेत्रको पनि सहयोगको खाँचो छ ।’
प्रतिकृया दिनुहोस