मौसमविद भन्छन्, आइतबारदेखि भारी वर्षा हुन्छ
काठमाडौं । शनिबार मौसम सामान्य देखियो । यसैका आधारमा तपाईले आइबार पनि मौसम सफा होला भनने सोच्नु भएको होला । तर, सचेत रहनु होला । किनकी आइतबारदेखि देशभर भीषण वर्षा हुँदैछ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म केही ठाउँमा भारी वर्षा हुने अनुमान गरेको छ । यदी नेपालका मौसमविदको विश्वास गर्ने हो भने आइतवारदेखि सचेत रहनुपर्ने अवस्था छ ।
शनिबार रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने छ । पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आइतबार दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सोमबार पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको छ ।
सतर्कता अपनाउन आग्रह
निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले नदीमा बहाब खतरा भन्दामाथि रहनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
देशका प्रमुख नदी कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबई लगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतरा भन्दामाथि रहने सम्भावना छ ।
त्यस्तै आइतबार बिहानसम्म कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई लगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । आइतबार बिहान प्रमुख नदीमा बहाब बढ्दो क्रममा हुने तथा कन्काई, कमला, बागमती, कोसी र यसका शाखा नदीमा बहाब उल्लेख्य बढ्ने तर खतरा भन्दा तलै हुने तथा पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने सम्भावना भने कायमै रहेको शाखाको पूर्वानुमान छ ।
प्रतिकृया दिनुहोस