सक्कली सुन निलेर नक्कली फिर्ता !
विराटनगर । नेपाली समाजमा भनाइ नै छ ‘चोरका चार दाउ’ । यस्तै जुक्ति रचेर सुनको सिक्री चोर्न खोज्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् ।
इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरज कुमार नेपाल विराटनगर महानगरपालिका–९ स्थित अरुण कुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्न गए । उनले सुनको सिक्री मागेर गलामा लगाए । अनि ऐना अगाडि उभिएर केहीबेर आफूलाई हेरे । त्यसपछि उनले सुनको सिक्री गलाबाट निकालेर ‘मन परेन’ भन्दै फिर्ता गरे ।
सुन पसलेलाई शंका लाग्यो । हेर्दा उस्तै देखिए पनि नेपालले फिर्ता गरेको सिक्री आफ्नो नभएको दावीसहित राठीले प्रहरीलाई खबर गरे । प्रहरी पसलमा आएर नेपाललाई नियन्त्रणमा लियो । उनको शरिर खानतलासी र्गयो तर, सिक्री फेला परेन ।
पसलेले आफ्नो सुनको सिक्री सुरजसँगै रहेको दावी गरिरहे । प्रहरीले उनले सिक्री निलेको शंका र्गयो र विराटनगरको विराट अस्पतालमा लगेर भिडियो एक्सरे गरायो । भिडियो एक्सरेको रिपोर्टमा पेटभित्र सुनको सिक्री देखियो । यो देखेर स्वास्थ्यकर्मी मात्र होइन, प्रहरीसमेत चकित परे ।
उनले पसलेको सक्कली सुनको सिक्री निलेर आफूसँग भएको नक्कली सुनको सिक्री फिर्ता गरेका रहेछन् ।
सुरज कुमार नेपाल हाल प्रहरी नियन्त्रणमा छन् । उनलाई वडा प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस