पूर्व र मध्य क्षेत्रमा भारी वर्षा हुने संभावना, सतर्क रहन आग्रह
काठमाडौ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएर पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि निस्क्रिय भएको मनसुन आजदेखि देशैभरी पुनः सक्रिय भएको हो ।
मनसुनी गतिविधि सक्रिय भएकाले आज दिनभरी नै देशैभरी पानी पर्ने संभावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । मौसमविद् अर्यालका अनुसार आज दिउँसो मध्यपश्चिम क्षेत्र र राती पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रमा भारी वर्षाको संभावना छ ।
गएरातीदेखि नै मध्यमाञ्चल क्षेत्रमा अन्यत्रभन्दा धरै वर्षा भएको छ । त्यस्तै नेपालगञ्ज, डडेलधुरा, विरेन्द्रनगर, भैरहवा लगायतका ठाउँमा पनि औसत वर्षा भएको अर्यालले जानकारी दिए ।
तर, विगत केहीदिनदेखि जोमसोम क्षेत्रमा भने पानी परेको छैन। मौसमविद् अर्यालका अनुसार अहिले पनि त्यहाँ मौसमी गतिविधि निस्क्रिय छ।
यस वर्ष काठमाडौं उपत्यकामा औसतभन्दा धेरै वर्षा भएको छ । जुलाई महिनामा काठमाडौं उपत्यकामा अनुमान गरिएभन्दा वढी वर्षा भएको मौसमविद् अर्यालले बताए ।
आज–भोली देशका धेरै ठाउँमा ठूलो पानी पर्ने संभावना भएकाले भिरालो जमीन र नदी आसपास क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन्।
प्रतिकृया दिनुहोस