घुसको आरोपमा लेखापाल र सुब्बा पक्राउ
पर्सा । पर्साको धोवनी गाउँपालिकाका लेखापाल र नायब सुब्बालाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
आयोग मकवानपुरबाट आएको टोलीले गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नासु ऐनामुल हक अन्सारीलाई हिसाब फछ्र्योट गरेबापत सेवाग्राहीबाट १ लाख १० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेको हो ।
वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित लेखापाल यादव बसेको कोठामा अख्तियारको टोलीले छापामारी नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
गाउँपालिकामा रहेको संसारीमाई मन्दिरको पर्खाल निर्माणको हरहिसाब फछ्र्योट गरेबापत ४० हजार र ढलान सडकको हरहिसाब फ्र्योटबापत ७० हजार कमिशन लिएको सूचनाका आधारमा छापामारी गर्दा सूचनाअनुसारको रकम बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुवैलाई नियन्त्रणमा लिइएको अख्तियार टोलीले जनाएको छ ।
गाउँपालिकामा भएका निर्माणकार्यको हरहिसाब फछ्र्योट गरेबापत लेखापाल र नासुले १० प्रतिशत घुस माग गरेको सेवाग्राहीबाट गुनासो आएपछि घुस दिन तयार पारिएको रकममा हात रातो हुने रसायन मिसाइ रकम पठाएको र पछि परीक्षण गर्दा रकम छुने कर्मचारीको हातसमेत रातो भएको अख्यितार टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ ।
प्रतिकृया दिनुहोस